एमाले विवाद : नेपाल पक्षले बनायो समानान्तर कमिटी, तोक्यो प्रदेश र विभाग इन्चार्ज

एमाले विवाद : नेपाल पक्षले बनायो समानान्तर कमिटी, तोक्यो प्रदेश र विभाग इन्चार्ज


नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी शर्मा ओली पक्षलाई चुनौती दिँदै समानान्तर कमिटी बनाएको छ । शनिबार काठमाडौंमा बसेको नेपाल पक्षको केन्द्रीय समिति बैठकले सातै प्रदेशमा इन्चार्ज र विभागीय प्रमुख तोकेको हो । 

बैठकले १ नम्बर प्रदेशमा भीम आचार्य, २ नम्बरमा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई इन्चार्ज तोकेको हो । बैठकले विद्यार्थी विभाग इन्चार्जमा गोकर्ण विष्ट, युवा विभागमा रघुजी पन्त, महिला विभागमा अष्ठलक्ष्मी शाक्य, प्रचार विभागमा योगेश भट्टराई र बुद्धिजीवी विभागमा प्रवेश हमाललाई इन्चार्ज तोकेको जनाइएको छ ।

शुक्रबार मात्रै प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर प्रदेश इन्चार्ज र विभागीय प्रमुख तोकेका थिए । ओली समूहले १ नम्बर प्रदेशमा सुवासचन्द्र नेम्वाङ, २ नम्बरमा सत्यनाराण मण्डल र बागमतीमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको थियो । 

त्यस्तै शुक्रबार नै ओलीले केन्द्रीय कमिटीको विशेष बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । त्यसको विरोधमा शनिवार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा बोल्दै नेता माधवकुमार नेपालले पार्टी भित्रको अवस्थाले निराश नहुन आग्रह गरेका छन् । 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी पदाधिकारीलाई पदमुक्त गरेपछि आयोजित बैठकमा नेपालले आन्दोलन अगाडि बढाउने विषयमा चिन्तन मनन गरेर अगाडि बढ्नुपर्ने बताए । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको बेला कसरी सामना गर्ने भन्ने मुख्य विषय रहेको उनले बताए । 

Logo