यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा

यसकारण सञ्चालनमा आएन जनकपुर–जयनगर रेल सेवा


जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न कानुनी समस्या देखिएको छ । रेल सञ्चालनसम्बन्धी विधेयक संसदमा विचाराधीन रहेका कारण अगाडि बढ्न समस्या परिरहेको छ ।

कानुन अभावकै कारण नेपाल र भारतबीच चल्ने अन्तरदेशीय रेल सेवा सञ्चालन आरम्भ हुने मिति अझै तय हुन सकेको छैन । भारतबाट दुई सेट रेल जनकपुर आएको छ महिना बितिसकेका छ । रेल अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेल्वे कम्पनी लिमिटेडले कहिले कर्मचारीको अभाव त कहिले भारतसँग अन्तिम तयारी भइरहेको भन्दै रेल सञ्चालनबारे पटक–पटक भाका फेर्दै आएका छन् । रेल सेवा सञ्चालन गर्न भारत सरकारबाट निर्माण भएका संरचना नेपाल सरकारलाई हस्तान्तरण हुन बाँकी छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपककुमार भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालन गर्न आवश्यक ऐन कानुनको अभाव नै मुख्य बाधक रहेको बताए । उनले भने, ‘रेल सञ्चालन गर्न सबै तयारी पूरा भइसकेको छ । कानुनी समस्याले रेल सञ्चालनको विषय अड्किएको छ ।’
रेल सञ्चालनसम्बन्धी कानुन विधेयकका रूपमा प्रतिनिधि सभामा पेस भएको थियो । सो विधेयक राष्ट्रिय सभाको विधायन समितिबाट पारित भइसकेको छ । गोरखापत्र दैनिकमा समाचार छ । 

Skip This
Logo