‘सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनेको छैन’ : कांग्रेस प्रवक्ता

‘सरकारको नेतृत्व लिन राजनीतिक वातावरण बनेको छैन’ : कांग्रेस प्रवक्ता


नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ। 

वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने किसिमको राजनीतिक वातावरण नरहेको प्रतिक्रिया दिएका हुन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले सभापति देउवालाई प्रधानमन्त्री पद चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे। यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनको जिकिर छ ।

उनले आफैंसँग भएको सांसद संख्या र अन्य दलहरुभित्र भएको अन्तर कलह र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइ नसकेकाले पार्टीले पनि धारणा तय नगरेको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने स्पष्ट पारे ।

कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि उनको भनाइ छ । उनले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादीभित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे ।  

उनले वर्तमान राजनीतिक अवस्थाले नेपाली कांग्रेस पार्टीले सरकारको नेतृत्व खोजिरहेको भएपनि राजनीतिक गणित त्यो ढंगले विकसित नभएको तर्क गरे । राजनीतिक वृत्तमा चर्चा भएजस्तो वास्तवमै प्रतिगमन तिर लैजाने प्रधानमन्त्रीलाई विदाई गर्ने हो भने सबै दलहरु प्रधान एजेण्डाका साथ आउनु पर्ने धारणा उनको छ।

Logo