केन्द्रबिन्दु बुलेटिन : विधान संशोधनका लागि एमालेद्वारा संसदीय बोर्ड गठन (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : विधान संशोधनका लागि एमालेद्वारा संसदीय बोर्ड गठन (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। बैठकले संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड गठन गरेको हो । उक्त बोर्डमा असन्तुष्ट पक्षका नेताद्वय माधव नेपाल र झलनाथ खनालसमेत समावेश गरिएको छ। संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको छ।

नेकपा (एमाले) नेपाल–खनाल समूहले केपी ओलीले दिएको धम्कीको राष्ट्रिय कार्यकर्ता भेलाले अस्वीकार गरेको निष्कर्ष निकालेको छ । बुधबारदेखि राजधानीका सुरु राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गर्दै यस्तो निष्कर्ष निकालेको हो । भेलामा उपस्थित नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले गुटगत मानसिकता त्यागेर पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका थिए।

आगामी चैत ९ देखि १७ गतेसम्म नेपालमा आयोजना हुने त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबलको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । ९५ प्रतिशत तयारी पूरा भइसकेको एन्फाले जनाएको छ ।

सरकारले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल विनियोजित बजेटको जम्मा २३.४६ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा जम्मा ८२ अर्ब ७९ करोड १६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको हो। कोभिड–१९ महामारीको प्रभाव र पछिल्लो समय उत्पन्न राजनीतिक अस्थिरताले मुलुकको आर्थिक गतिविधिमा संकुचन आएसँगै चालू आवको बितेका आठ महिना तीन दिनसम्ममा पुँजीगत खर्च पनि हुन नसकेको हो।

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ । सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद चाहिएको भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारे । यद्यपि परिस्थिति बनेको अवस्थामा भने प्रधानमन्त्री पदको जिम्मेवारी लिनबाट कांग्रेस नभाग्ने पनि प्रवक्ता शर्माको जिकिर छ।

Logo