सुरक्षित चेली अभियान सुरुः ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

सुरक्षित चेली अभियान सुरुः ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’


कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान सुरु भएको छ । 

लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शुक्रबारदेखि सो अभियान शुरु गरेको हो । 

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटना बढिरहेको बताए । ‘बलात्कार, हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुर्व्यसन प्रमुख कारण बनेको देखिन्छ” उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि नेपाल प्रहरीलाई समाजको सहयोग आवश्यक हुन्छ ।’

उनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाघामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सामाजिक सञ्जालको गलत प्रचारबाजी र तत्कालीन प्रहरी कर्मचारीको काम प्रतिको लगनशीलतामा देखिएको कमिका कारण घटना जटिल बनेको दाबी गरे । ‘प्रहरीले समाजबाट पाइने सूचना र प्रविधिको आधारमा अपराध न्यूनीकरण र सो सम्बन्धी अनुसन्धान अगाडि बढाउने गरिन्छ’, उनले भने, ‘निर्मलाको प्रकरणमा समाजले सूचना दिएन, निर्मला प्रविधिसित नजिक थिइनन् ।’

उनले निर्मला हत्या प्रकरणमा प्रहरीको अनुसन्धान सफल हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिमको पहाडी जिल्लामा समेत सुरक्षित चेली अभियान थालिनी गर्दै आएका सुवेदीले चेली ८० प्रतिशत आफन्तबाट प्रताडित हुने गरेका घटना प्रहरीमा आइरहेको बताए । ‘हिजोसम्म अपरिचितबाट बलात्कारका घटना घटेका सुनिन्थे’, उनले भने, ‘अहिले १२ प्रतिशत चेली आफन्त, घरपरिवार र परिचित व्यक्तिबाट बलात्कृत भएका छन् ।’

उनले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए । ‘सुदूरपश्चिममा ५०० घटनाको अनुसन्धान गर्दा करीब ८४ प्रतिशत हत्याका घटना आफन्तबाटै भएको देखिन्छ’, उनी थप्छन्, ‘सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न सुरक्षित चेली अभियानले सहयोग पुग्नेछ ।’

जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंह, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलगायतले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्ने बताए । रासस

Logo