गणेशमानलाई सम्झिँदै जनआन्दोलन दिवसमा पदयात्रा

काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो ।

‘डेमोक्र्याटिक वाकाथन’ नाम दिईएको पदयात्रमा लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु सहभागी थिए ।

कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा नायिका केकी अधिकारी समेत सहभागी भएकी थिईन् । उनले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै गणेशमान सिंहकै कारण हामी यहाँ सम्म रहेको प्रतिक्रिया दिईन् ।

प्रजातन्त्र पुनःस्थापना का लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनःस्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो ।

गणेशमानलाई सम्झिँदै जनआन्दोलन दिवसमा पदयात्रा