महँगा सवारी आयात खुला, के के मा हट्यो प्रतिबन्ध ?

महँगा सवारी आयात खुला, के के मा हट्यो प्रतिबन्ध ?


सरकारले केराउ, सुपारी, छोकडा, अप्रशोधित मरीच र महँगा सवारीसाधन आयातमा लगाइएको पूर्ण बन्देज हटाएको छ । कृषिजन्य वस्तु पनि सीमित परिमाणमा आयात गर्न पाउने गरी पूर्ण प्रतिबन्ध फुकुवा गरेको छ । यसका लागि सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

कोभिड–१९ को संक्रमण तीव्र भएपछि समग्र अर्थतन्त्रमा असर पुगेको थियो । अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न र डलर बिदेसिन रोक्न आयातमा बन्देज लगाइएको थियो । २०७६ चैत २४ मा सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । सरकारले लकडाउनलगत्तै मदिरा, मरीच, छोकडा, केराउ तथा ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यका सवारी आयात प्रतिबन्ध गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख हुन थालेपछि महँगा सवारीको आयात प्रतिबन्ध फुकुवा गरिएको जनाइएको छ । सोमबार प्रकाशित सूचना अनुसार अमेरिकी डलर ५० हजारभन्दा बढी मूल्यका सवारीसाधन पैठारीमा लगाइएको पूर्ण बन्देज हटाइएको छ । अब आर्थिक वर्ष २०७७/७८ मा उद्योगी व्यवसायीले केराउ ८० हजार टन आयात गर्न सक्छन् । सुपारी आयातको पूर्ण बन्देज हटाएर २५ हजार मेट्रिक टन परिमाण तोकिएको छ । छोकडा भने ५ हजार टन आयात गर्न पाइनेछ ।

‘केराउको पैठारीमा लगाइएको पूर्ण बन्देज हटाई आर्थिक वर्ष २०७७/७८ का लागि ८० हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने, सुपारीको पैठारीमा लगाइएको पूर्ण बन्देज हटाई आर्थिक वर्ष २०७७/७८ का लागि कुल २५ हजार टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने र छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देज हटाई आर्थिक वर्ष २०७७/७८ का लागि ५ हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाइएको छ,’ राजपत्रमा भनिएको छ, ‘नधुल्याएको मरीचको पैठारीमा लगाइएको पूर्ण बन्देज हटाई आर्थिक वर्ष २०७७/७८ का लागि १५ हजार मेट्रिक टन परिमाणमा ननाघ्ने गरी विदेशबाट आयात गर्न सकिने गरी परिमाणात्मक बन्देज लगाइएको छ ।’ 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कृषि वस्तुमा परिमाणात्मक बन्देज लाग्ने गरी फुकुवा गरेको हो । एउटा उद्योगी व्यवसायीले कति परिमाण आयात गर्न पाउने भनी तोकिएको भने छैन । आयातको कोटा तोक्ने अधिकार उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको हो ।

एउटै उद्योगी व्यवसायीलाई आयातको कोटा नदिइने विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । ‘राजपत्र विभागमा आइपुगेको छैन । आएपछि केही मापदण्ड बन्छ । एउटै उद्योगी व्यवसायीलाई सबै आयात गर्न दिइँदैन,’ उनले भने, ‘एउटैले लैजाने वा बजार नै खाली गराउने गरी अनुमति दिन्नौं ।’कान्तिपुरबाट

Logo