उद्योग वाणिज्य महासंघद्वारा ५० लगानीकर्ता, ५० व्यवसायी कार्यक्रम घोषणा

उद्योग वाणिज्य महासंघद्वारा ५० लगानीकर्ता, ५० व्यवसायी कार्यक्रम घोषणा


नेपाल उद्योग वाणिज्य महासंघले ‘स्टार्टअप’ नव उद्यमीहरुको लागि पुँजीसहित ५० लगानीकर्ता ५० व्यवसायी कार्यक्रम घोषणा गरेको छ । महासंघले नविन सोचका साथ उद्यम गरिरहेका ५० व्यवसायीहरुलाई महासंघ अन्तर्गतको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्ताहरुसँग साझेदारीको पहल गर्ने गरी कार्यक्रम घोषणा गरेको हो।

महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रन्जितराज आचार्यले नविन सोच बनाएर उद्यम गरिरहेका ५० वटा स्टार्टअप व्यवसायीहरुको व्यवसायिक सफलताको लागि समिति अन्तर्गत रहेको इन्भेष्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा साझेदारीका लागि कार्यक्रम घोषणा गरेको बताए । उनका अनुसार यहि चैत महिनाको तेस्रो साताबाट आवेदन खुल्ला गरिनेछ । 

स्टार्टअप व्यवसाय सूचना प्रविधि, कृषि, सेवा क्षेत्र तथा उत्पादनमूलक लगायत अन्य सबै क्षेत्रले आवेदन दिन पाइनेछ । ५० लगानीकर्ता, ५० व्यवसायी कार्यक्रममा आवेदन दिन चाहने स्टार्टअप उद्योग व्यवसायहरु कम्तीमा १ वर्ष वा सो भन्दा बढी समय सञ्चालनमा आएको हुनुपर्ने व्यवस्था रहेको छ। 

आवेदन दिएका स्टार्टअप उद्यमी व्यवसायीहरु छनोट भए पश्चात जुलाईदेखि सेप्टेम्बरसम्म ३ महिने मेन्टरिङ तालिम दिनु पर्नेछ । समितिले मेन्टरिङ तालिमको लागि २० जना अनुभवी उद्यमी व्यवसायीहरुलाई समेटेर मेन्टर टोली बनाएको छ । उक्त टोलीमा अनिल चित्रकार, पशुपति मुरारका, ओम राजभण्डारी, सौरभ ज्योति, आशुतोष तिवारी, रञ्जित आचार्य, सुमन शाक्य, सिद्धान्तराज पाण्डे, शिक्षित भट्ट, विश्वास ढकाल, सुमना श्रेष्ठ, निरज खनाल, आनन्द बगरिया, गगन प्रधान, निरञ्जन श्रेष्ठ, दिलीप अग्रवाल, सनम चित्रकार, योगेन्द्र शाक्य, भाष्कर ढुंगाना र सञ्जय गोल्छा छन् । २० जनाको मेन्टर टोलीले छनोट भएका स्टार्टअप व्यवसायीहरुलाई भोलेन्टियरका रुपमा ३ महिनासम्म उद्यम सफल व्यवसायीक बनाउनको लागि परामर्श दिने छन् ।

महासंघका अध्यक्ष शेखर गाल्छाले स्टार्टअप एण्ड इनोभेसन समितिले ल्याएको ५० लगानीकर्ता, ५० व्यवसायी कार्यक्रम एकदमै समय सान्र्दभिक र महत्वपूर्ण थालनी भएको बताएका छन्। 

महासंघको नयाँ कार्यसमितिले तयार पारिरहेको २०३० सम्मको भिजन पेपर अनुसार संघका विभिन्न समितिहरुले काम गरिरहेको छ । उनले भने,‘भिजन पेपर अनुसार एक वर्षमा देशभित्र नै ४ लाख नेपालीलाई रोजगारी दिने योजना छ।’यही योजना अनुरुपको ५० लगानीकर्ता, ५० व्यवसायी कार्यक्रम आएको तथा सन् २०३० सम्म १०० अर्ब डलरको अर्थतन्त्र बनाउने एउटा खुड्कीलो मात्रै भएको उनको भनाइ छ।
 
महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि पहिलो पटक स्टार्टअप एण्ड इनोभेसन समिति रन्जितराज आचार्यको सभापतित्वमा गठन भएको थियो।

Logo