धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर हुँदै नेपाल

धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर हुँदै नेपाल


सरकारले धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा धुलो दूध, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा अ‍ोलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ। मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताए । नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उनले बताए ।

यसलाई पाँच हजार मेट्रिक टन पुर्याउने लक्ष्य राखिएको उनले बताए । अहिले धुलो दूधको प्रयोग मिठाई पसल, डेरी, चकलेट तथा बिस्कुट उद्योगमा मात्र भइरहेको छ। यसको प्रयोग आम उपभोक्तामा गएको छैन । सहसचिव निर्मलले आम उपभोक्तासमक्ष पनि धुलो दूध पुर्याउने तयारी भइरहेको बताए। पाँच हजार मेट्रिक टन उत्पादन भयो भने त्यसले आम उपभोक्तालाई पनि पुग्ने उनले दाबी गरे। अहिले यसको आयातमा पूरै रोक लगाइएको छ ।

अगामी आर्थिक वर्षमै पाँच हजार मेट्रिक टन धुलो दूध (एसएमपी) पुर्याउने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । बटर (घिउ) १२ सय मेट्रिक टन उत्पादन हुन्छ त्यति नै खपत हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । ब्रेड तथा अन्य कुरामा प्रयोग हुने बटर थोरै मात्रामा आयात हुन्छ तर घिउलाई चाहिने बटर नेपालमै उत्पादन हुने गरेको उनले बताए।

फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालसँग तीन हजार ४५० मेट्रिक टन धुलो दूध र एक हजार ८६० मेट्रिक टन बटर मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यसमध्ये दुग्ध विकास संस्थानसँग एक हजार पचास मेट्रिक टन धुलो दूध र पाँच सय ५० मेट्रिक टन बटर मौज्दात रहेको छ भने निजी क्षेत्रसँग दुई हजार ४०० मेट्रिक टन धुलो र एक हजार २९० मेट्रिक टन बटर मौज्दात रहेको छ।

दूधको उत्पादन भए पनि अहिले कोरोनाका कारण त्यसको खपत कम भएको हुनाले बाँकी रहेको दूधलाई एसएमपी र बटर बनाएर राख्ने गरेको छ। सहसचिव निर्मलका अनुसार दूधको उत्पादन दिनदिनै बढ्दै गइरहेको छ र त्यही हिसाबले एसएमपी र बटरको उत्पादनमा पनि वृद्धि हुने भएकाले निर्यात हुने अवस्था आउने बताए।

नेपालमा चार लाख ५० हजार मेट्रिक टन मासु उत्पादन हुन्छ । त्यसमध्ये ४६ प्रतिशत कुखुराको मासु रहेको छ। बाँकी अन्य पशुपन्छीको मासु हुने गरेको छ। नेपालमा कुखुरा, खसी, बङ्गुर र राँगाको मासु बढी प्रयोग हुन्छ। यी पशुपन्छीको मासुमा नेपाल आत्मनिर्भर रहेको कृषि मन्त्रालयले जनाएको छ । वार्षिक ३३ लाख खसीबोकाको मासु नेपालमा खपत हुने गरेका छन् । विभागको तथ्याङ्क अनुसार नेपालमा दैनिक १० लाख केजी कुखुराको मासु खपत हुन्छ।

नेपाल अण्डामा आत्मनिर्भर मात्र होइन चाहिनेभन्दा बढी उत्पादन भइरहेको छ । कृषि मन्त्रालयका अनुसार नेपालमा एक अर्ब ४० करोड अण्डा उत्पादन हुन्छ । त्यसमध्ये प्रतिव्यक्ति वार्षिक रूपमा न्युनतम ४८ वटा खानुपर्छ तर नेपालमा प्रतिव्यक्ति ५४ वटा अण्डा पुगिरहेको छ । सहसचिव निर्मलका अनुसार प्रतिव्यक्ति १०० गोटा अण्डा पुर्याउने लक्ष्य रहेको बताए।

छुट्टै लोगो
सरकारले दूध ढुवानी गर्ने गाडीलाई निर्वाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ । सो लोगोको उद्घाटन पनि चैत १२ गते गर्ने भएको छ । सो लोगो कार्यान्वयनमा आएपछि दूध ढुवानी गर्ने गाडीलाई निर्वाध रूपमा चल्न दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।गाेरखापत्रबाट

Logo