महामारी नियन्त्रणका लागि आवश्यक संरचना तयार गर्न १८ बुँदे सुझाव

महामारी नियन्त्रणका लागि आवश्यक संरचना तयार गर्न १८ बुँदे सुझाव


प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले संक्रामक महामारी नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ ।

कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिले आज समिति समक्ष आफ्नो प्रतिवेदन पेस गर्दै प्रत्येक अस्पतालमा संक्रामक रोग सम्बन्धी निश्चित शैय्याको एकाइ व्यवस्था गर्न सुझाव दिएको हो ।

कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्न सरकारले चालेको कदमको स्थलगत अनुगमन तथा निरीक्षण गरी उपसमितिले १८ बुँदे सुझाव समितिसमक्ष पेस गरेको हाे । 

निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका प्लान्ट चालू अवस्थामा राख्ने, संक्रामक तथा अन्य रोग बारे जनचेतना विकासको अभियान सञ्चालन गर्ने, दुर्गम र सुगम क्षेत्रमा फरक स्वास्थ्य सेवा सम्बन्धी नीति तर्जुमा गर्ने, चिकित्सक बढुवा प्रणालीमा सुधार तथा अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न उपसमितिले सुझाएको छ । 

खुला सीमा भएका ठाउँमा संक्रामक लगायत रोगसम्बन्धी जाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्रको व्यवस्था र स्थानीय तहअन्तर्गत सबै अस्पताल र स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्पष्ट नीति ल्याउन पनि उपसमितिले सुझाव दिएको छ । 

Logo