#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व65791530433486063141419
नेपाल5041

२०७५ का उत्कृष्ट साहित्यिक पुस्तकहरु

ज्ञानमणि नेपाल कालोटोपी

बर्ष ०७५ मा विभिन्न विधाका थुप्रै पुस्तकहरु प्रकाशन भएका छन् । साहित्यिक कृतिहरु मात्रै झण्डै ४ सय भन्दा बढी प्रकाशन भए । प्रकाशन भएका पुस्तक मध्ये कतिपय चर्चामा आए त कतिपय गुमनाम रहे । सबै पुस्तकहरु आफैमा महत्वपूर्ण छन् । तर, पुस्तकको सन्देश, लोकप्रियता, बजार लगायतका आधारमा यो बर्षका उत्कृष्ट पुस्तक छनौट गरेका छौ ।

योगमाया  (०७४ को मदन पुरस्कार प्राप्त कृति )

यस वर्षको भदौमा साहित्यकार नीलम कार्की निहारिकाको ‘योगमाया’ कृतिका लागि ०७४ सालको मदन पुरस्कार प्रदान गरियो । पुरस्कारका लागि छनोटमा परेका आठवटा पुस्तक मध्ये निहारिकाको योगमाया कृतिलाई मदन पुरस्कार प्रदान गरिएको थियो । मदन पुरस्कार गुठीले ०७४ सालको मदन पुरस्कारका लागि आठ वटा पुस्तक छनोट गरेको थियो । समितिले प्राप्त दुई सय ५३ पुस्तकमध्ये आठ वटा पुस्तक छनोट गरेको हो । योगमाया राणाकालमा समाज सुधारका लागि विद्रोह गरेकी भोजपुरकी महिला योगमायाका जीवनीमा आधारित भएर लेखिएको कृति हो । यो अघिल्लो वर्ष ०७४ मा प्रकाशित कृति हो । मदन पुरस्कार प्रदान गरेपछि यो बर्ष यो पुस्तकको चर्चा र बिक्रि ह्वात्तै बढ्यो।

प्रिय सुफी (उपन्यास)
पछिल्लो पुस्ताले धेरै रुचाएका लेखक सुविन भट्टराईको प्रिय सुफी उपन्यास यस वर्ष सफल उपन्यासको रुपमा रहेको छ । यसअघि मनसुन, साया, समर लभ जस्ता उपन्यास कृति पाठकलाई दिइसकेका भट्टराईको प्रिय सुफीलाई फाइन प्रिन्ट प्रकाशनले बजारमा ल्याएको हो । यस कृतिका पाठकहरु विशेषगरि युवायुवती रहेका छन् । मायाप्रेम, विछोड र युवायुवतीमा विपरित लिङ्गीप्रति हुने शारीरिक आर्कषण सुविनका उपन्यासका विशेषता हुन् । यसको बजार मूल्य ३७५ रुपैयाँ रहेको छ ।

न्याय (आत्मकथा)
साहित्य इतरको कृति हो न्याय । पूर्वप्रधानन्यायाधिस शुशीला कार्कीले आफूले काम गर्दा भोगेका विविध घटनाक्रमहरु र न्याय सम्पादनलाई आत्मकथाको रुपमा यसवर्ष पुस्तकको आकार दिएर सार्वजनिक गरेकी छिन् । जसले गर्दा शुशीला कार्की र उनको न्याय पुस्तकलाई खोजी गरेर पढ्ने पाठकहरु यो वर्ष उल्लेख्य रहे । यसमा उनले न्याय सम्पादनमा आफूले भोगेका अनुभवहरु, महिला भएर न्याय सम्पादनमा भोग्नु परेका कठिनाई र चुनौतीका विषयलाई घतलाग्दो पाराले चित्रण गरेकी छिन् । जून विषय भविष्यमा पनि उपयोगी रहने निश्चित भएकाले यसको खोजी धेरै भएको हो । यसलाई बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

विमान विद्रोह (संस्मरण)
विमान विद्रोह पनि साहित्य भन्दा फरक पुस्तक हो । पूर्वप्रधानन्यायधिस शुशीला कार्कीका श्रीमान दुर्गा सुवेदीको यो पुस्तक संस्मरणात्मक कृति हो । प्रजातान्त्रान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको आत्मवृत्तान्त विमान विद्रोह एउटा राजनीतिक अपहरणको वयान हो । वि.सं २००३ सालमा धनकुटामा जन्मिएका सुवेदी नेपालको प्रजातान्त्रिक आन्दोलनमा चर्चित नाम हो । तत्कालिन पञ्चायती सत्ताविरुद्ध नेपाली कांग्रेसले गरेको सशस्त्र संघर्षलाई सहयोग पुर्याउनका लागि नेपाल राष्ट्र बैंकको भारु ३० लाख लुट्न सुवेदीले बसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँग मिलेर ०३० सालमा नेपाल वायुसेवा निगमको विमान अपहरण गरेका थिए ।

विमान अपहरणपछि करिब १० वर्ष लामो प्रवास बसाई र दुई वर्ष भारतीय जेलमा जीवन बिताएका सुवेदी कालान्तरमा माओवादी र सरकारबीच शान्ति संवाद गराउने सूत्राधार समेत बनेका थिए । यसरी एउटा सशस्त्र संघर्ष गर्दा र अर्को सशस्त्र संघर्ष टुंग्याउन भूमिका खेल्दाका दुवै परिवेश र अनुभव विमान विद्रोहमा समेटिएको छ । पुस्तकमा कांग्रेसले हतियार उठाउँदाका अन्तरकथा, कोइराला परिवारका भित्री कथा र त्यसै क्रममा उनी स्वयंलाई पार्टी भित्रबाटै मार्न खोजिएको षडयन्त्रको पनि सुवेदीले खुलासा गरेका छन् । साथै आफ्नी धर्मपत्नी सुशीला कार्की प्रधानन्यायाधीश छँदा तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्की कसरी ‘१० करोडको गोड्धुवा प्रस्ताव’ लिएर आएका थिए भन्ने वर्णन पनि पुस्तकमा रहेकाले यस पुस्तकले यो वर्ष निकै चर्चा पाएको हो । यसलाई किताब पब्लिसर्स प्रालिले प्रकाशन गरेको हो ।

द्रौपदी (अनुवादित उपन्यास)
द्रौपदी डा.प्रतिभा रायद्वारा लिखित उपन्यास हो । यसलाई नेपालीमा विन्द्या सुब्बाले अनुवाद गरेका हुन् । अनुवादित यस कृतिलाई मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो । यो पुस्तक पनि यो वर्ष धेरै पाठकले रुचाएको पुस्तकका रुपमा रहेको छ । यसमा पौराणिक विषयवस्तु समेटिएको छ । भर्खरै नेपाली साहित्यको बजारमा आएको यो कृति सर्बप्रथम ओडिया भाषामा प्रकाशन भएको थियो । यो धेरै भाषामा अनुवाद भई चर्चाको शिखर बटुलेको कृति हो । विन्द्या सुब्बाले हिन्दी संस्करणलाई नेपालीमा अनुवाद गरी याज्ञसेनीबाट द्रौपदी बनाएका हुन् । बदलाको भावनाले प्रेरित राजा दरुपदकी छोरीको नाममा उनैलाई प्रमुख पात्र बनाई लेखिएको यो उपन्यास एउटा सशक्त नारीबादी उपन्यास हो । धर्म स्थापना गर्न होस् या कायम गर्न नारीको सहयोग महत्वपूर्ण छ भन्ने यस पुस्तकले वकालत गरेको छ ।

छुटेका अनुहार ( संस्मरण निबन्ध )
भागेर भूगोलभरि कवितासङ्ग्रह (२०७१) बाट निकै नै चर्चामा आएका कवि रमेश सायनले पछिल्लो पटक सार्वजनिक गरेको संस्मरण निबन्ध छुटेका अनुहार पनि यसवर्ष सबैभन्दा वढी रुचाइएको पुस्तकका रुपमा रहेको छ । सायनको यस कृतिमा अटाएका निबन्धहरूमा मनोरञ्जन, सपना, दुर्घटना, दुःख, प्रेम, परिवार, सङ्घर्ष, धर्म, समाज, सामाजिक उच निच, आन्दोलन, शिक्षा, परम्परावादी आचरण, आधुनिकीकरणतिरको अनुकूल पाइला, अथाह मनोकाङ्क्षा, स्वतन्त्र अवधारणा, हाँस्यव्यङ्ग्यात्मक अभिव्यक्ति, विदेशका विविध परिघटना लगायतका विषय वस्तुहरुले प्रवेश पाएका छन् । छुटेका अनुहारको पहिलो निबन्धमा एउटा सिमकार्ड पाउँन कतिसम्म सङ्घर्ष गर्नुपर्यो भनेर सायनले आफ्नै जीवनको एउटा पाटोलाई प्रस्तुत गरेका छन् । यसलाई लिपी बुक्सले बजारमा ल्याएको हो ।

छलियुग (उपन्यास )
करिव २ दशक वढी सक्रिय पत्रकारिता गरेका कृष्ण अविरलको पछिल्लो उपन्यास नाम हो छलियुग । यसअघि रक्तकुण्ड, शाहवंशको शल्यक्रिया, विषपुरुष, रक्तबीज, नम्रता लगायत १२ वटा कृति प्रकाशित गरिसकेका अविरल यथार्थमा आधारित कृति लेख्न खप्पिस छन् । उनको छलियुग पनि यस्तै सामाजिक उपन्यास हो । यसमा वैदेशिक रोजगारले निम्त्याएको सामाजिक विचलन अनि सन्तान भएर पनि निःसन्तान हुनुको पीडा भोगिरहेका समाजका अनेक बाबुआमाको आँसु पोखिएको छ । आजको युग कसरी नैतिक पतनतिर गइरहेको छ भन्ने कुराको एउटा सुन्दर साहित्यिक दस्तावेज हो छलियुग ।

पुतलीको घर

यसवर्ष प्रकाशित भएका मध्ये सिएनएन हिरो पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ पनि चर्चामा छ । पत्रकार तथा लेखक घनश्याम खड्काले लेखेको यस पुस्तक अल्केमी पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तकमा एउटी युवतीले पाएको असफलता र त्यसबाट उम्कन उनले तय गरेको बाटोको बारेमा विषयवस्तु केन्द्रीत रहेको प्रकाशनले जनाएको छ । जेलमा परेका निर्दोष बालबालिकाको जीवन परिवर्तनमा बस्नेतको जीवन नै पुस्तकको मूल भाव रहेको छ । पुस्तकमा पुष्पाले कसरी बालबालिकाको उत्थान गरिन्, के कस्ता बाधा आइपरे लगायत संसार माझ चिनिएपछि उनी सहित बालबालिकाको जीवनमा कस्तो प्रभाव पर्यो भन्ने विषय समेटिएको छ

दंश (कथा संग्रह )

कथाकार दिनमान गुर्मछानका कथाहरूको संग्रह दंश पनि यस वर्ष प्रकाशित मध्ये अग्रपंक्तिमा छ । साहित्य व्यक्तिगत कल्पनाको उपज मात्रै नभएर समाजको अभिव्यक्ति हो । जीवन व्यक्तिगत भएर पनि सामाजिक भोगाइ हो । यस्तै सामाजिक भोगाइका विविध पक्षहरूलाई लेखकले आफ्ना रचनामा पेस गरेका छन् । दिनमानले कथा रचनाको प्रमुख आधार समाजलाई मानेका छन् र समाजबाटै कच्चा सामाग्री लिएर कथा रचना गरेका छन् । अठार वटा कथाहरूले संरचित ‘दंश’ संग्रहभित्रका कथाहरूले पाठकलाई दिने प्रभावको पाटो भनेको नै देशको सांस्कृतिक अनुहार हो । मधेसका कुरा, नारी पीडाका कुरा, प्रभुत्वशाली र अधीनस्थका बीचको द्वन्द्वका कुरा, प्रेम र घातका कुराहरू नै कथाका विषय बनेर आइरहेका छन् । प्रायः हरेक कथामा आदर्श केन्द्रमा राखेर लेखिएका उनका १८ वटै कथाहरूले फरक–फरक संस्कृतिलाई बोकेका छन् । त्यसैले यो उत्कृष्ट संग्रह बनेको हो ।

अन्य
यस्तै सरोज रेग्मीको लेखन रहेको र बुक वल्र्ड पब्लिकेशनले बजारमा ल्याएको उपन्यास मिस यु, डा.तारानाथ शर्माको नेपालदेखि अमेरिका सम्म (पुनः प्रकाशित ) कृतिलाई पनि पाठकहरुले रुचाए । यस्तै शिखा बुक्सबाट प्रकाशित दामोदर न्यौपानेको स्कुल बेच्ने बालक, किशोर पहाडीको रोजा कथाहरु, भुवनहरि सिग्देलको अद्भुत तिवारी , शहदेव बस्नेतको सहकारी ज्ञानसागर लगायतका कृतिहरु पनि यसवर्ष पाठकहरुले धेरै रुचाएका कृतिहरु भित्र परेका छन् । यस्तै शब्द्धार्थ प्रकाशनको अमरत्वको सम्झना (प्रा.शिवगोपाल रिसाल), छेउ न टुप्पो (प्रकाशप्रसाद उपाध्याय ), समसामयिक नेपाली समालोचना (प्रा.राजेन्द्र सुवेदी), नेपाली गणित कोष (महेश्वरप्रसाद उपाध्याय), प्रेमाञ्जली (विनयकुमार शर्मा नेपाल), मानव अधिकार शब्दकोश (माधव रेग्मी लगायतका पुस्तकहरु पनि चर्चामा रहेका छन् ।

यस वर्ष प्रकाशित पुस्तकका सबैलाई लेखकहरुलाई शुभकामना छ । साथै आगामी वर्ष अझ उत्कृष्ट पुस्तकहरु पढ्न पाउ शुभकामना ।

सम्बन्धित समाचारहरु