बागलुङ घटनाको छानबीन गरि दोषीलाई पक्राउ गर्न कांग्रेसको माग

बागलुङ घटनाको छानबीन गरि दोषीलाई पक्राउ गर्न कांग्रेसको माग


नेपाली कांग्रेसले बागलुङको होली मेलामा भएको झडपमा दुई युवाको मृत्यु भएको र थुप्रै व्यक्ति घाइते भएको घटनाप्रति निन्दा गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरि  बागलुङ घटना अमानवीय भएको भन्दै दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गरेका छन्।

घटनामा मृत्यु भएका दुई युवा प्रकाश कुंवर र दिपक नेपाली बागलुङ कांग्रेसका जिल्ला सदस्यसमेत भएको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ। होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ। विज्ञप्तिमा भनिएको छ ।

आइतबार यहाँ होली खेल्ने क्रममा भएको झडपमा २ जनाको मृत्यु भएको छ भने केही घाइते र बेपत्ता भएको प्रहरीले जनाएको छ ।

विज्ञप्ति :

बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।

घटनामा प्रकाश कुंवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ ।

प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ । घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुग्दैछ ।

घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कार्वाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।

 

Logo