सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने

सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने


काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने भएका छन् । सभामुख सापकोटाले आज प्रेस विज्ञप्तिमार्फत आफूलाई चाडपर्ववापत प्राप्त खर्च कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरेको बताएका हुन् ।

विश्वव्यापी कोरोना महामारी र त्यसबाट उत्पन्न सङ्कटका घडीमा संसदका सदस्यलाई उपलब्ध गराइएको चाडपर्व खर्चलाई लिएर विभिन्न टिप्पणी आएका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको उनले जनाएका छन् । सरकारको गत वर्षको निर्णयले उपलब्ध गराउँदै आएको सुविधाका सन्दर्भमा देशको हालको सङ्कटपूर्ण अवस्थालाई ध्यानमा राखी सत्तापक्ष तथा प्रतिपक्षी दलले गरेको सुझबुझ निर्णयप्रति सभामुख सापकोटाले धन्यवाद दिएका छन् ।

देशको आर्थिक अवस्था सङ्कटपूर्ण रहेको वर्तमान अवस्थामा उनीहरुको सो कदमले सरकारको कोरोना प्रकोप नियन्त्रण गर्ने अभियानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षासमेत सभामुख सापकोटाले व्यक्त गरेका छन् । सत्तारुढ दलका केही सांसदले सरकारले उपलब्ध गराएको दशैँभत्ता फिर्ता गर्ने वा अस्पताल तथा बिरामीलाई सहयोग गरेका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने पूर्ण रुपमा नै उक्त सुविधा फिर्ता गर्ने निर्णय गरेको छ ।रासस

Logo