एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना प्रबल

एमाले र जसपाबीच सत्ता समीकरणको सम्भावना प्रबल


नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)बीच सत्ता समीकरणको सम्भावना प्रबल देखिएको छ। सरकारले जसपाका माग सम्बोधन गर्न थारू कल्याणकारी सभासँग वार्ता थालेको छ। जसपाको महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सकारात्मक देखिएको छ।

जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गर्ने विषयमा सरकारले चालेका कदमप्रति तुलनात्मक रूपमा विश्वस्त रहेको बताए। ‘प्रचण्डजीहरू आइज आइज भन्नुहुन्छ, केही गर्नुहुन्न, न कि पहिला पनि प्रचण्ड सबै माग पूरा गर्छु भन्नुहुन्थ्यो । तर सत्ता हुँदा पनि केही गर्नुभएन’, अध्यक्ष ठाकुरले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा भने, ‘ओली त जति गर्न सक्छु गर्छु भन्नुहुन्छ। म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कुरामा विश्वास गर्ने आधार नभएको बताए।

उनले खाली चेकमा सम्झौता नगर्ने बताए । जेलमा रहेका आफ्ना नेता  कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान सशोधनलगायत माग पूरा नभएसम्म सरकारको विषयमा छलफल नै नहुने उनको भनाइ थियो । ‘सांसद जेलमा छन् । मन्त्रीलाई मुद्दा लागेको छ’, ठाकुरले  भने, ‘हाम्रो हातखुट्टा बाँधिएको छ। यो फुकुवा भएपछि मात्रै हामी सत्तामा जाने कुरा आउँछ।’

उनले प्रधानमन्त्रीका तर्फबाट सकारात्मक कदम चालिएकोमा धन्यवाद दिए। उनले सबै दलसँग संवाद भने भइरहेको बताए। कांग्रेस, माओवादी केन्द्रसँग कसरी अगाडि बढ्ने भन्ने खाका नरहेको उनले सुनाए। ‘उहाँहरू हाम्रो मागको विषयमा गरुँला गरुँला भन्नुहुन्छ तर कहिले गर्छौं भन्ने आउँदैन’, उनले भने ।

प्रतिनिधिसभामा एमालेका १२० सांसद छन् भने जसपाका ३२ जना । २७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ३८ जना भए बहुमत पुग्छ। जसपा र एमाले मिले सरकारलाई सुविधाजनक बहुमत हुन्छ। एमालेको माधवकुमार नेपाल पक्षले फ्लोरक्रस गरे वा जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले असहयोग गरे पनि एमाले र जसपाको गठनबन्धनलाई बहुमत पुग्ने देखिन्छ । तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन। समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।अन्नपूर्णबाट

Logo