घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित

घुस अस्वीकार गर्ने ३४ जना ट्राफिक प्रहरी सम्मानित


महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने एक प्रहरी नायव निरीक्षकसहित ३४ जना ट्राफिक प्रहरीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
 
सम्मानित हुनेहरु मध्ये ७ जनालाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी पुरस्कृत गरिएको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिमबहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लालबहादुर बिक र शंकरकुमार पन्त रहेका छन् ।

नेपाल प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न नियमित ब्रिफिङ्ग एवं निर्देशन दिँदै आएपछि घुस दिन खोज्ने १३६ जना चालकहरुलाई पक्राउ गरी कारबाही गरिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

‘ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारवाही पश्चात हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन, प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी सङ्गठनको छवि उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एवं पुरस्कृत गरिएको हो’, उनले भने ।
 
आम सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

Skip This
Logo