४ नेपाली खेलाडी एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने

४ नेपाली खेलाडी एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुने


एसियाली जुडो च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ७ सदस्यीय नेपाली जुडो टोली शुक्रबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्दैछ। अप्रिल ४ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिला ४८ केजीमुनि सोनिया भट्ट, ५७ केजीमुनि देविका खड्का र ७० केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन् । चारै खेलाडी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । देविका र पुनम १३ औं सागका स्वर्ण विजेता हुन्। इन्द्रले रजत तथा सोनियाले कांस्य जितेका थिए।

ओलम्पिक र्याङकिङका रुपमा समेत रहेको प्रतियोगितामा ३१ राष्ट्रका १ सय २३ पुरुष र ९५ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल जुडो संघले जनाएको छ। टोली प्रशिक्षकमा ओलम्पियन ऋषिराम प्रधान रहेका छन्। जुडो संघका महासचिव समेत रहेका धर्मकुमार श्रेष्ठले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्नेछन् । स्पोर्ट्स डाइरेक्टर सुप्रसिद्ध ताम्राकार पनि टोलीसँगै किर्गिस्तान जाँदैछन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। अप्रिल ३ मा हुने जुडो युनियन अफ एसिया (जेयुए) को कार्यकारी समितिको बैठक र जेयुए जोन बैठक तथा अप्रिल ४ मा हुने जेयुए कोग्रेसमा भाग लिन जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य बिस्केक पुगिसकेका छन्। महासचिव श्रेष्ठ पनि जेयुए जोन बैठकमा सहभागी हुने बताइएको छ। 

Logo