Cover NewsHot Newsराष्ट्रियसमाचारसमाज

सशस्त्र प्रहरीले ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना ज्येष्ठ पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता दिने भएको छ । ७० वर्ष कटेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ निर्वाह भत्ता दिन लागेको हो । नेपाल सरकारको जेष्ठ नागरिकलाई सम्मान गर्ने नीतिलाई मूर्त रुप दिन संगठनले वार्षिक भत्ता उपलब्ध गराउने निर्णय गरेको बलका प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्वकर्मचारी तथा वीरगति प्राप्त गरेका कर्मचारीका सन्तानको विवाहमा ब्याण्ड बाजा निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

यसअघि बलका वहालवाला कर्मचारी र उनीहरुका सहोदर छोराछोरीलाई मात्र यो सुविधा दिइँदै आएको थियो । यो वर्षबाट कर्मचारीले लिन पाउने ऋणको कोटा पनि बढाइएको छ । यसअघि २ सय २५ जनाले ऋण लिन पाउने व्यवस्था रहेकामा थप २५ वटा कोटा कायम गरेर २५० जनाले ऋण लिन पाउने व्यवस्था गरिएको छ ।

तस्बिरः सशस्त्र प्रहरी बलको फेसबुक पेजबाट

Comment here