आर्मी र श्रीलंका पुलिसबीचको खेलमा आधा दर्शकलाई मात्र अनुमति

आर्मी र श्रीलंका पुलिसबीचको खेलमा आधा दर्शकलाई मात्र अनुमति


एएफसी कप–२०२१ प्लेअफ अन्तर्गत नेपालको त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस स्पोर्ट्स क्लबबीचको खेलमा रंगशालाको क्षमता भन्दा आधा दर्शकलाई मात्र दशरथ रंगशालामा प्रवेश दिईने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराइने जनाएको छ । आर्मीले दशरथ रंगशालामा श्रीलंकाको पुलिस क्लबसँग चैत २५ गते प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ । तर, कोरोनाको महामारी र एएफसीको नियमलाई मध्यनजर गर्दै आधा दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ । आर्मी र श्रीलंका पुलिसबीचको खेल हेर्न दुई फरक टिकटदर राखिएको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य राखिएको छ।

करिब २० लाख खर्च हुने खेलमा उठेको रकम क्लबको हुनेछ । श्रीलंकन टिमले नेपाल आएपछि जंगी अड्डामा तयारी गर्नेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल खेल्नेछ । यस प्लेअफको विजेताले समूहचरणको समूह ‘डी’ स्थान बनाउनेछन्।

समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्लेअफको मौका पाएको हो।

Logo