त्रिभुवन आर्मीसँग न्यू डायमण्ड पराजित

त्रिभुवन आर्मीसँग न्यू डायमण्ड पराजित


ह्वोङ्गान्जी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको प्रतिस्पर्धामा पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोस्रो खेलमा आर्मीसँग पराजित भएको हो। पहिलो सेटमा १७–२१ ले पछाडि परेको न्यू डायमण्ड खेलमा फर्कदै दोस्रो सेटमा २५–२० ले जीत हात पार्न सफल भयो। यस्तै तेस्रो सेटमा पुनः २३–२५ ले खेल गुमायो। चौथो सेटमा सम्हालिंदै २५–१५ ले खेललाई आफ्नो पक्षमा पारेको डायमण्ड पाँचौं तथा निर्णायक सेटमा भने १२–१५ ले गुमाउन पुग्यो।

रोमाञ्चक जीत निकालेको आर्मीले २ अंक जोड्दा डायमण्डले १ अंक हात पार्यो। डायमण्डको ४ अंक भएको छ भने आर्मीको २ अंक भएको छ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा भएको च्याम्पियनसिपको महिलातर्फ दोस्रो दिन विभागिय टोली एपिएफ र नेपाल पुलिसले पनि जीत निकाल्न सफल भए । एपिएफले ढोरपाटन स्पोर्टस् क्लबमाथि ३–० को सहज जीत निकाल्यो। एक पक्षिय खेलमा एपिएफले ढोरपाटनलाई २५–३, २५–९ र २५–५ ले पराजित गर्दै ३ अंक जोड्यो । यस्तै पुलिसले पनि भरतपुर मेट्रो खेलकुदमाथि ३–० को सेटमा नै जीत निकाल्यो। पुलिसले भरतपुरलाई २५–४, २५–८, २५–१२ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो।

पुरुषतर्फको प्रतिस्पर्धामा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले जीत हात पार्दै आफ्नो खातामा ३ अंक जोड्यो। हेल्प नेपालले नयाँबजार सामाजिक युवा क्लबमाथि ३–१ को जीत निकालेको हो । पहिलो सेट २५–१४ ले जितेको हेल्प नेपालले दोस्रो सेट २३–२५ ले गुमाउन पुग्यो। पुनः खेलमा फर्कदै हेल्प नेपालले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पार्दै जीत हात पार्यो। तेस्रो सेटमा २५–२२ र चौथो सेट २५–१६ अंकका साथ जीत हात पारेको हो। चैत २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

Logo