नेपाली महिला तस्करीमा बेलायती नागरिक संलग्न

काठमाडौं । केन्याको एउटा नाइट क्लबमा प्रहरीले पक्राउ गरेका १२ नेपाली महिलालाई एक बेलायती नागरिकले तस्कर गरेर त्यहाँ पुर्याएको खुलासा भएको छ । गत शनिबार केन्या प्रहरीले १२ नेपाली महिला सहित डान्स बार सञ्चालकलाई नियनत्रणमा लिएको थियो । उनीहरुमाथि प्रहरीले गरेको अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाइले १२ नेपाली महिलालाई तस्करी गरेर आफ्नो न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको हो ।

अलिभाइ रंगिला बार र एम्की प्लाजाका मालिक हुन् । उनको स्वामित्वको उक्त थलोलाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टारको समाचारमा उल्लेख छ । नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोगमा सोमबार अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ ।

ती नेपाली महिलाहरुलाई मार्च १३ देखि १४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको जिकिर अदालतमा दायर मुद्दामा गरिएको छ । केन्याको दी स्टार पत्रिका पत्रिकाका अनुसार, उनीविरुद्ध मानव तस्करी गरेकोदेखि त्यसका लागि उक्साएकोलगायत ३ अभियोग दर्ता भएको छ । नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अर्को अभियोग पनि अलिभाइलाई लागेको छ ।

नेपाली महिला तस्करीका अभियुक्त अलिभाइ धरौटीमा छुट्न चाहेका थिए । तर, अदालतले छाड्न अस्वीकार गरेको छ । पासपोर्ट दिन गरेको आग्रह उनले इन्कार गरेपछि अदालतले धरौटीमा छाड्न अस्वीकार गरेको हो । स्टेट काउन्सिल सक्विलाले अभियुक्तसँग भारतसँगै बेलायतको पासपोर्ट रहेको र उनको पासपोर्ट जफत नगरी धरौटीमा छाड्दा देश छाड्न सक्ने खतरा रहेकाले धरौतीमा रिहा नगरिएको बताएका छन् ।

तस्बिरः दी स्टार पत्रिका