राष्ट्रिय रिङ रेस्लिङको उपाधि नुवाकोटे टाईगरलाई

राष्ट्रिय रिङ रेस्लिङको उपाधि नुवाकोटे टाईगरलाई


नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जितेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधिको रक्षा गरेका हुन् । 

पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा डेविडले टाईगरमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए। डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारिसकेका थिए । 

अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथि चढेर हाईजम्बमार्फत टाईगरमाथि जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसकेपछि घुँडा सिधै रिङमा बज्रिदा घाइते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथि आफ्नो लक लगाएपछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जितेका थिए ।

उपाधिसँगै टाईगरले नगद एक लाख पनि प्राप्त गरे । प्रतियोगितामा उपविजेता बनेका डेभिडले नगद ५० हजार रुपैयाँ पाए । प्रतियोगितामा चट्टानले तेस्रो स्थानमा चित्त बुझाए ।

शुक्रवार रद्द भएको ठगु र द युगबीच च्यालेन्ज खेल पुनः भएको थियो । खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युगले ठगुलाई रिङबाटै च्यालेन्ज गरेका थिए । ठगु र द युगबीच प्रतिस्पर्धा एकदमै डरलाग्दो भएको थियो । दुवैले एकअर्का माथि रिङ भित्र र बाहिर रहेका वस्तुहरु प्रहार गरेका थिए ।

उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहाँ वरपर रहेका वस्तुहरु एक अर्कामाथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बगेको थियो । तर अन्त्यमा आएर द युगले ठगुलाई उठ्नै नसक्ने गरि पछारेपछि जीत हात पार्न सफल भए । योसँगै द युगले आईरन म्यानको उपाधि पाए ।  
 
नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएको २ दिने रिङ रेस्लिङ प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य, राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद सदस्य सचिव तेज गुरुङ, राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

Logo