एमाले नेपाल-खनाल समूहद्वारा काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा

एमाले नेपाल-खनाल समूहद्वारा काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा


नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । खनाल–नेपाल समूहले आइतबार वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरेको हो। 

काठमाडौंमा आयोजित जिल्ला कमिटी घोषणा कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्यसमेत रहेका मानन्धरको अध्यक्षतामा समानान्तर कमिटी घोषणा गरिएको हो । यो समूहको काठमाडौं जिल्ला उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुमकुमारी कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । यो समूहले जिल्ला कमिटीमा रहने सदस्यहरू पनि घोषणा गरेको छ ।

एमालेको काठमाडौं जिल्ला अध्यक्ष भने प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णबहादुर राई हुन् । उनी अध्यक्ष केपी शर्मा ओलीको समूहमा रहेका छन्। 

खनाल–नेपाल समूहको शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर एमालेको समानान्तर कमिटी घोषणा गर्ने र विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेका थिए। एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा सञ्चालन गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तयार नभए मुलुकभर समानान्तर गतिविधि सञ्चालन गर्ने यो समूहको निर्णय रहेको छ।

यसैबीच नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गरेका छन्। आइतबार आफ्नो समूहको काठमाडौं जिल्ला कमिटीको घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो टिप्पणी गरेका हुन्।

काठमाडौं जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ समेत दोहोर्याए । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको समेत नेता नेपालले दावी गरे।

यसैगरि सोही कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीमा दक्षिणपन्थी अवसरवाद हाबी भएकै कारण राजनीतिक संकट पैदा भएको बताएका छन् । नेता खनालले अहिलेको अवस्था आउनुमा ओलीमा रहेको दक्षिणपन्थी अवसरवाद मुख्य जिम्मेवार रहेको दाबी गरे।

Logo