दश महिनामा १३ पटक इन्धनको मूल्यवृद्धि, निगम भने अझै घाटामै

दश महिनामा १३ पटक इन्धनको मूल्यवृद्धि, निगम भने अझै घाटामै


नेपालमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो समय निरन्तररुपमा अस्वाभाविक ढंगले बढीरहेको छ। सरकारी स्वामित्वको नेपाल आयल निगमले असारदेखि चैतसम्ममा पेट्रोल प्रतिलिटर २० र डिजेल तथा मट्टितेल प्रतिलिटर १७ रुपैयाँ, हवाई इन्धनको मूल्य आन्तरिक तर्फ ७ रुपैयाँ र खाना पकाउने एलपिजी ग्यासको मूल्य २५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले बढाएको छ। 

गत असारसम्म पेट्रोल प्रतिलिटर एक सय रुपैयाँ रहेको थियो । ०७७ असार २६ गते मूल्यवृद्धि भएर एक सय २ रुपैयाँ पुगेकोे पेट्रोलको मूल्य चैत २३ गते आइपुग्दा १२० रुपैयाँ पुग्यो । यसैगरी डिजेल र मट्टितेलको मूल्य असारमा ८६ रुपैयाँ रहेकोमा मूल्यवृद्धि भएर ८८ रुपैयाँ पुर्याइयो। यो १० महिनाको अवधिमा डिजेल र मट्टितेलको मात्रै मूल्य १७ रुपैयाँले बढेर १०३ रुपैयाँ पुगेको छ।

यसरी असार महिनादेखि अहिलेसम्म पेट्रोलियम पदार्थको मूल्य १३ पटक घटबढ भएको छ । यो १० महिनाको अवधिमा खाना पकाउने एलपी ग्यासको मूल्य १ हजार ३७५ बाट २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ पुगेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ६५ रुपैयाँबाट ७ रुपैयाँ बढेर ७२ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८६८ बाट २५ ले बढेर ८९३ अमेरिकी डलर पुगेको छ।

आयल निगमलाई स्वचालित मूल्य पद्धतिले २ प्रतिशतसम्म उपभोक्तामूल्य समायोजना गर्न पाउने अनुमति दिएको छ । त्यही अनुमतिमा रहेर निगमले एक  पटकमा २ रुपैयाँ प्रतिलिटर मूल्य बढाउने तथा घटाउने काम गर्दै आएको छ। तर, यदि २ प्रतिशतभन्दा बढी बढाउनु वा घटाउनु परेमा निगमले सञ्चालक समितिमार्फत नै निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ।

एक वर्षअघि कोभिड महामारी फैलिएपछि सिंगो आर्थिक बजार नै प्रभावमा प¥यो।  पेट्रोलियम पदार्थ खपतमा कमि आयो भने, यसको अन्तराष्ट्रिय बजारमा नै मूल्य ओरालो लाग्यो। उक्त समय अन्तर्राष्ट्रिय बजार मूल्य घटेको एक महिनापछि मात्र निगमले मूल्य घटाएको थियो। मूल्य समायोजन हुँदा आयल निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। तर अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेपछि नेपालमा पनि कोरोना लकडाउन खुकुलो पारिएसँगै असार २६ गतेबाट मूल्यवृद्धि गरियो। त्यसयता निगमले निरन्तर १३ पटक मूल्यवृद्धि गरिसकेको छ। 

यो अवधिमा साउन र भदौ महिनामा दुई÷दुई पटक मूल्यवृद्धि गरियो । त्यसपछि माघ महिनामा पनि एक महिनामा दुई पटक नै मूल्यवृद्धि गरियो। यस्तै फागुन र चैतमा एक हप्ताको फरकमा मूल्यवृद्धि गरियो। 

पुनः निगमले आइतबार राति अर्थात् चैत २३ गतेबाट लागू हुनेगरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ । विशेष गरेर भारतीय आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको १५ दिनपछि नेपालमा मूल्यवृद्धि हुने गरेको छ। सोहि अनुरुप यसपटक पनि निगमले घाटापूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको प्रवक्ता विनितमणि उपाध्यायले बताए। 

उपाध्यायका अनुसार मूल्यवृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा प्रतिलिटर १.९४ रुपैयाँ र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको छ।

यसरी बारम्बार मूल्यवृद्धि गर्दा पनि निगम भने अझै घाटामै छ।  तर, घाटामा गएको देखाउने निगमले कर्मचारीलाई करोडौंको बोनस बाड्ने भने हतारिएको देखिन्छ। अनि थोरै घाटा हुँदा तेलको मूल्य बढाएर जनतामा आर्थिक भार थप्न निगम उद्धत् देखिन्छ। नाफा हुँदा कर्मचारीलाई लाभांस वितरण गर्न हतारो भए जस्तै निगम घाटा भयो भन्दै मूल्यवृद्धि गर्ने चटारोमा व्यस्त हुन थालेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको असर भान्सासम्म

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणको भान्सासम्म असर पुग्छ। डिजेल पेट्रोलको मूल्यवृद्धिले यातायातको भाडा बढ्ने र त्यसले ढुवानी खर्चमा वृद्धी गराई बजारमा बस्तु तथा सेवाको मूल्यवृद्धि हुने गरेको छ। 

यातायात व्यवसायीहरुले यसअघि नै तेलमा भएको मूल्यवृद्धिका कारण ४० प्रतिशतसम्म भाडा बढाउनु पर्ने माग राख्दै आएका छन्। सरकारले हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने तर यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले भाडा किन नबढ्ने भन्दै व्यवसायीहरु भाडा बढाउन सरकारसँग ताकेता गरिरहेका छन्। 

यसरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष उपभोक्तामा मात्र असर नपुर्याई, अप्रत्यक्षरूपमा समेत उपभोक्ता आर्थिक मारमा पर्ने कुरामा निगमको ध्यान जानुपर्ने देखिन्छ।

यो पनि पढ्नुहोस्

आयल निगमको नियतमा शंका: नाफा हुँदा लाभांश वितरणको हतारो, घाटा हुँदा मूल्यबृद्धिको चटारो

Logo