चालु आर्थिक वर्षभरि नै बैंकहरुमा तरलता अभाव नहुने

चालु आर्थिक वर्षभरि नै बैंकहरुमा तरलता अभाव नहुने


बैंकहरुबाट कोरोना महामारीका कारण लगानीयोग्य रकम लगानी हुन नसक्दा अधिक तरलता थुप्रिएको थियो। तर, पछिल्लो समय यसरी बैंकमा थुप्रिएर बसेको रकम धमाधम लगानी हुन थालेको छ। 

लगानी तथा वस्तु आयात बढ्दै गएपछि बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुन्छ कि भन्ने बैंकिङक्षेत्रमा शंका गर्न थालिएको छ । तर शंका गरिएको जस्तो अहिले नै तरलताको अभाव हुन्छ भनेर डराउनु पर्ने अवस्था नभएको बैंकर्सहरुले बताउन थालेका छन्। 

कोरोना महामारीका कारण बजारमा लगानी हुन नसक्दा बैंकहरुमा २ खर्बभन्दा बढी तरलता थियो । पछिल्लो समय बैंकहरुमा निक्षेप संकलनभन्दा पनि कर्जा प्रवाह बढ्दै गएकाले तरलता अभाव हुने आशंका भइरहेको छ। तर बजारमा हल्ला भए जस्तो अहिले नै तरलता अभाव नभएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)अशोक शेरचनले केन्द्रबिन्दुलाई बताए। 

उनका अनुसार बैंकहरुमा निक्षेप संकलनभन्दा कर्जा बढ्दै गएको तर तरलता अभाव नै हुने स्थिती भने छैन । उनले भने,‘यो चालु आर्थिक वर्षभरि बैंकहरुमा तरलता अभाव हुँदैन ।’ राष्ट्र बैंकले बैंकहरुमा पुनर्कर्जाको रकम पठाउन थालेका छन् । कोरोना प्रभावित उद्योग व्यवसायलाई राहत दिन उपलब्ध गराएको पुनर्कर्जा बापतको रकम बैंकहरुमा पुगेपछि निक्षेप बढ्ने भएकाले पनि अहिले नै बैंकहरुमा तरलता अभाव नहुने उनको भनाइ छ। 

पछिल्लो समय कोरोनाले शिथिल बनाएको अर्थतन्त्र चलायमान हुन थालेको छ। अर्थतन्त्र चलायमान भएसँगै बैंकहरुमा अहिले कर्जाको माग विस्तारै बढे पनि तरलताको अभावकै स्थिति नहुने सिइओ शेरचन बताउँछन्। त्यस्तै, वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि बैंकहरुमा तत्कालै तरलता अभाव नदेखिने केन्द्रविन्दुलाई बताए।

उनले पछिल्लो समय बैंकहरुमा कर्जाको माग बढ्दा बैंकहरुले पनि कर्जा लगानी बढाएको तर पनि तरलता अभावको कुनै संकेत नदेखिने बताए । उनले भने,‘मैले यस अघिदेखि नै भन्दै आएको छु । चैत मसान्तसम्म अभाव हुने सम्भावना छैन। चैतपछि सरकारले गर्ने सरकारी खर्चमा भरपर्नु पर्ने हुन्छ। सरकारले खर्च राम्रो गर्यो भने बैंकहरुमा तरलता अभाव हुँदैन।’ 

राष्ट्र बैंकका अनुसार एक महिना अघिसम्म वित्तीय बजारमा ६५अर्ब रुपैयाँ हाराहारी तरलता थियो। तर पछिल्लो समय दैनिकजसो तरलता घटबढ भइरहने गरेको छ । यो अवधिमा नै १५ अर्बभन्दा बढी तरलता घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।  

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन थालेसँगै उद्योगी व्यवसायीहरुले व्यवसायमा लगानी बढाउन थालेकाले मंगलबारसम्म ५० अर्ब रुपैयाँमा थियो भने बुधबार आएर ३३ अर्बमा झरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए। तर अहिले तरलता घटेकै आधारमा अभाव नै हुन्छ भन्न नसकिने उनको भनाइ छ।

अहिले नै बैंकहरुमा तरलता अभावकै अवस्था छैन । उनले भने,‘चैत मसान्त भनेको उद्योगी व्यवसायीहरुले सरकारलाई तेस्रो तैमासको राजश्व बुझाउने समय भएकाले पनि यो मसान्तसम्म तरलता बढ्न सक्ने अवस्था देखिंदैन।’ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी बढाउन थालेकाले अभाव हुने हो कि भन्ने आशंका हो तर अहिले नै बैंकहरुमा तरलताको समस्या नहुने उनको भनाइ छ । 

बैंकहरुको निक्षेप र कर्जा विस्तार बढ्दै

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले चैत लागेपछि ६४ अर्ब रुपैयाँले निक्षेप थप गर्दा ८९ अर्ब रुपैयाँ कर्जा थप गरेका छन्। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन र ३४ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। तर चैत २० गतेसम्म आइपुग्दा निक्षेप ६४ अर्ब रुपैयाँले बढेर ३८ खर्ब ९० अर्ब रुपैयाँ र ८९ अर्ब रुपैयाँले कर्जा बढेर ३५ खर्ब १ अर्ब रुपैयाँ पुर्याएका छन्।

Logo