काठमाडौंमा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च, खुद्रामूल्य ४१० निर्धारण

काठमाडौंमा कुखुराको मासुको मूल्य हालसम्मकै उच्च, खुद्रामूल्य ४१० निर्धारण


कुखुराको मासुको मूल्य अहिलेसम्मकै उच्चविन्दुमा पुगेको छ। ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य ४१० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

कोरोना महामारीको बेलामा अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा चल्ला उत्पादनको लागि चाहिने कच्चा पदार्थहरु मोफसल अनुसार आउन नसेकाले माग अनुसारको उत्पादन हुन नसकेको र  मासुको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको संघका अध्यक्ष जगतबहादुर बिसीले बताए। 

उनका अनुसार बिहीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकिएको छ। काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको मासुको मूल्य यति धेरै पुगेको थिएन। तर एक वर्ष अघिको लकडाउनको प्रभाव बजारमा हाल आएर देखिँदा मासुको मूल्य उच्च देखिएको हो। चल्ला उत्पादन गर्ने कच्चा पदार्थ कमी भएर चल्ला उत्पादन नहुँदा बजारमा भएको माग समेत पूरा गर्न नसकेकाले कुखुराको मासुको मूल्य इतिहासकै सबैभन्दा धेरै भएको बिसीले बताए।

अहिले संघले ४१० रुपैयाँ बिक्री मूल्य तोकेको छ तर, बजारमा भने प्रतिकिलो ४३० रुपैयाँ भन्दा धेरै रहेको उपभोक्ताहरुले बताएका छन् । यता, मासु व्यवसायीहरुले भने होलसेलमा नै तयारी कुखुराको प्रतिकिलो ३९० रुपैयाँ भन्दा बढी पर्ने भएकाले बढाएर बेच्नु परेको बताएका छन्। राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक साढे तीन लाख किलो ब्रोइलरको मासु खपत हुने गरेको छ।

यस अघि किसानले प्रतिकिलो अधिकतम २७० रुपैयाँमा पाउने जिउँदो कुखुराको मूल्य अहिले २९० रुपैयाँ पुगेको अध्यक्ष बिसीले बताए। कोरोना महामारीको कारणले बजारमा मासुको खपत नहुँदा गत असोजमा ब्रोइलर कुखुराको मासुको मूल्य पछिल्लो तीन वर्ष यताकै सबैभन्दा कम २०५ रुपैयाँमा झरेको थियो।

Logo