चितवनमा ट्याक्टर दुर्घटना: पाँच जनाको मृत्यु, १९ घाइते

चितवनमा ट्याक्टर दुर्घटना: पाँच जनाको मृत्यु, १९ घाइते


राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्याक्टर आइतबार साँझ ७ः३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए।रासस

Logo