विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव

विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव


कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाहरुले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन्। 
    
नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए। उनले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा पर्यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिए। 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनु पर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो। 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिए। सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चालन गर्न सुझाव दिए।

Logo