नारायणगढ–मुग्लिन सडकका पुलहरू चौडा गरिने

नारायणगढ–मुग्लिन सडकका पुलहरू चौडा गरिने


पूर्वपश्चिम राजमार्गको मुग्लिन–नारायणगढ खण्डमा रहेका पुल चौडाइको काम अघि बढाइएको छ। झण्डै १२ मिटर चौडाइमा सडक विस्तार भएकोमा सडक विभागले पुल विस्तार अघि बढाएको हो। हाल सञ्चालनमा रहेका पुललाई छाडेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। 

छत्तीस किमी लम्बाइको सो सडकमा रहेका १५ पुलमध्ये सात पुलको काम अहिले अघि बढिरहेको छ। पहिले रहेका पुल त्यही छाडेर त्यसको माथि वा तल्लो भागमा पुल बनाउन लागिएको आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए। निर्माण भइरहेकामध्ये सबैभन्दा लामो पुल सिद्धिदोभानको पुल रहेको छ। त्यसको लम्बाई ६५ मिटर छ। यो आवमा सेतीदोभान, खहरे खोला, जलबिरेलगायत पुल सकिने देखिएको आयोजनाले जनाएको छ। सो खण्डमा सडकको कालोपत्र गत वर्ष सम्पन्न भएको थियो।

सो खण्ड आयोजनाले गत वर्ष भरतपुर डिभिजनलाई हस्तान्तरण गरेको थियो । यी पुलको काम दुई वटा ठेक्कामा भइरहेको प्रमुख रिमालले जानकारी दिए। तीन वर्ष पहिले पुल निर्माण सुरु भएको थियो । उनले भने, “सबै पुल अबको दुई वर्षमा सकिने गरी काम भइरहेको छ।”

मुग्लिनबाट नारायणगढतर्फ लाग्दा केही अगाडि तीन पुल निर्माण गर्नुपर्ने भए पनि कठीन भूगोलका कारण निर्माण गर्न अप्ठेरो भएको प्रमुख रिमालले बताए। मुग्लिनबाट अगाडि चार पाँच किमी दूरीमा रहेका तुइन खोला पुल, किसिनजी खोला पुललगायत स्थानमा पुल निर्माण गर्दा असजिलो भएको उनको भनाइ छ । यहाँको भैगोलिक बनावट अप्ठेरो भएकाले अहिलेसम्म डिजाइन हुन सकेको छैन। यो स्थानमा सवारीसाधन रोक्न पनि नमिल्ने र भित्तामा पहिरो र ढुङ्गा काट्नु पर्ने भएकाले कठिन हुने उनले बताए। उनले भने, “छेउतिर नदी र भित्तामा चट्टान नै चट्टान भएकाले काम गर्न कठिन छ।”

सबै पुलहरूको निर्माण कम्पनी आफैले डिजाइन गर्ने गरी (डिजाइन एण्ड बिल्ट) मार्फत निर्माण अघि बढाइएको हो। अरु सबैको डिजाइन सकिएर निर्माण भइरहेको र कतिको सम्पन्न हुने चरणमा पुगे पनि कठिन भूगोल भएका स्थानमा निर्माण व्यवसायीले डिजाइन फाइनल गर्न सकेका छैनन्। भूगोलकै कारण नारायणगढतर्फ पुल निर्माण गर्न गाह्रो नभएको तर मुग्लिनतिरको कठिन भएको प्रमुख रिमालले बताए। उनका अनुसार अहिले नौ पुलमा काम भइरहेको छ। अहिले काम भइरहेका र डिजाइनमा रहेका सबै पुल नै दुई वर्षमा सम्पन्न गरिने उनले बताए। निर्माण भइरहेका पुलमा निर्माण कम्पनीले नियमित काम गरिरहेको छ। ठेक्का सम्झौतामा ३० महिनाको अवधि थियो । उनले भने, “निर्माण भइरहेका कुनै पनि ठाउँमा व्यवसायीले ढिलाइ गरेको छैन र अरु विवाद पनि छैन।” 

सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा छ। नारायणगढ–मुग्लिन खण्डमा सडक बनिसके पनि निर्माणाधीन पुल सम्पन्न नहुँदा अझै पनि सवारीसाधन गतिमा चल्न सकेका छैनन्। सो खण्ड पार गर्न अहिले औसत ३० मिनेट लाग्ने गरेकामा सबै पुल सम्पन्न हुँदा १० मिनेट समय अझै कम लाग्ने उनले बताए। पुल निर्माण स्थलमा व्यक्तिगत घर र जग्गा नभए पनि वरिपरि टहरा छन् । उनले भने, “हामीले त्यहाँ भएका टहराहरू क्षतिपूर्ति दिएर हटाइरहेका छौँ।”  

सरकारले नागढुङ्गाबाट मुग्लिन सडक पनि विस्तार गर्ने  योजना बनाएको छ। सो खण्डमा सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुनेछ। नागढुङ्गा–नौबिस, नौबिसे–मलेखु र मलेखु–मुग्लिन गरी तीन खण्डमा बिस्तारको योजना बनाइएको छ। यो सडक आगामी वर्षदेखि निर्माण सुरु हुनेछ। सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तार सबैतिर गर्दै जाने योजना बनाएको छ।रासस

Logo