नयाँ भेरियन्ट देखिएसँगै कोरोनाका गम्भीर बिरामी बढे

नयाँ भेरियन्ट देखिएसँगै कोरोनाका गम्भीर बिरामी बढे


पछिल्लो समय कोभिड–१९ संक्रमित बिरामीमा निमोनिया देखिएको पाइएको छ।

मुलुककै पहिलो एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलगायत अन्य अस्पतालमा कोरोनाका अधिकांश बिरामीमा निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ। प्रशासनका अनुसार टेकुमा मात्र निमोनियासहित नयाँ लक्षण सहितका १४ जना बिरामीको आइसियुमा उपचार भइरहेको छ। 

आठजना बिरामीको भेन्टिलेटर र एकजनाको विशेष प्रविधिमार्फत् उपचार भइरहेको अस्पतालले जनाएको छ। अहिलेकै जस्तो संक्रमण जारी रहेमा अवस्था भयावह हुने टेकू अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोला बताउँछन्। 

‘अस्पतालमा उपचार गराइरहेका अधिकांश कोरोनाका बिरामीमा निमोनिया देखिएको छ। कतिपय बिरामीको अवस्था गम्भीर छ,’ उनी भन्छन्। कोरोना संक्रमण सुरु भएयता अहिलेसम्म मुलुकभर ३ हजार ६१ जनाको मृत्यु भइसकेको छ। 

त्यस्तै, कोरोना हट स्पोट बन्दै गएको वीरगन्जस्थित नारायणी अस्पतालमा  पनि कोरोना संक्रमितमा निमोनियासमेत देखिएको अस्पतालका वरिष्ठ चिकित्सक डा. उदय सिंहले बताए। हालसम्म सातजना बिरामीको अस्पतालमा उपचार भइरहेको छ। 

गत मंगलबार वीरगन्जमा दुईजनाको मृत्यु भएको डा.सिंहले जनाए। सिंहका अनुसार प्रदेश २ मा दैनिक ४०–५० जना हाराहारीमा संक्रमण पुष्टि हुँदै आएको छ। 

विश्वव्यापी रूपमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकोले संक्रमितको संख्या तीव्र बन्दै गएको विज्ञहरू बताउँछन्। 

‘बेलायतबाट उत्परिवर्तित भएको युके भेरियन्ट, ब्राजिलबाट उत्परिवर्तित भएको ब्राजिलियन भेरियन्ट, भारतबाट फैलिन सुरु गरेको डबल म्युटेड भेरियन्ट आदिले गर्दा झनै जोखिम बढेको छ,’ डा. बाँस्तोला भन्छन्, ‘अवस्था पहिलेको भन्दा गम्भीर हुन सक्ने भएकाले उच्च सतर्कता जरुरी छ।’

विज्ञहरुका अनुसार कुनै पनि भाइरस समयक्रमसँगै परिवर्तन हुँदै जान्छ। पृथ्वीमा रहेका करोडौं प्रजातिका भाइरस सधैँजसो परिर्वतन भइरहेका हुन्छन्। केही समयपछि केही भाइरस मर्दै जाने र केही भाइरस भने परिर्वतित भई झन् संक्रामक हुने गरेका विज्ञहरूको तर्क छ। 

नेपालमा नयाँ लक्षणसहितका बिरामीमा कोरोनाको युके भेरियन्ट पुष्टि भएको छ।  नयाँ भेरियन्ट हो कि होइन भनी पत्ता लगाउन सरकारले केही दिनअघि विदेशमा स्वाब परीक्षण गर्दा उक्त तथ्य पत्ता लागेको हो। 

संक्रामक रोग विज्ञ सन्तोष दुलालका अनुसार  कोरोना भाइरसको संक्रमण ६ सातायता ५ गुणा र एक सातायता २ गुणाले बढेको छ। संक्रमण दर बढेसँगै उच्च सतर्कता आबश्यक रहेको दुलालको भनाइ छ।  

मुलुकमा कोरोनाको संक्रमण तीव्र बनेसँगै बालबालिका बढी प्रताडित बनेका तथ्यांकले देखाएको छ। पछिल्लो समय नियमित पठनपाठन सुरु भएसँगै विद्यालय कोरोना सार्ने माध्यमको रूपमा विकास भएका छन्। त्यसैलाई आधार मान्दै स्वास्थ्य  मन्त्रालयले कम्तीमा एक महिना विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।     

मुलुकमा राजनीतिक सभा, समारोह र आन्दोलनले गर्दा संक्रमणको जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन्। सुरक्षा सतर्कता नअपनाउँदा महामारी नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिन्छन् डा. बाँस्तोला।  

सार्वजनिक यातायतमा स्वास्थ्य मापदण्ड पालनाबिनै यात्रुहरूको भीडभाडले समस्या गम्भीर बन्दै गएको छ। सपिङ मल र पार्टी प्यालेसको भीडले पनि बिरामीको संख्या बढ्दै गएको हो।

Logo