पुरानो वसपार्कको सिटी मार्केटमा महानगरको सिलबन्दी

पुरानो वसपार्कको सिटी मार्केटमा महानगरको सिलबन्दी


लामो समयदेखि बिना सम्झौता सञ्चालन भइरहेको भन्दै पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटमा काठमाडौँ महानगरपालिकाले आज सिलबन्दी गरेको छ। 

सिटी मार्केटमा सञ्चालनमा रहेका १ सय १२ वटा पसल नै सिल गरेको महानगरले जनाएको छ । महानगरसँग भएको सम्झौता सकिएको तथा स्मार्ट सिटी महानगर बनाउने योजना रहेकाले बोर्ड बैंठकले नै सिटी मार्केट हटाउने निर्णय गरेकाले सोहि निर्णय अनुसार नै सिल गरेको महानगरकी उपमेयर हरिप्रभा खड्कीले बताइन्।

उनले महानगरले पूर्वजानकारी दिएको तर व्यापारीहरुले अटेर गरेकाले आज सिल गरिएको बताइन् । लामो समयदेखि बिना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्ता गरेपछि सिलबन्दी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए । 

‘लामो समयदेखि सम्झौता पनि नभएको अवस्थामा हामीले अब त्यहाँ मार्केट नचलाउने गरी हाललाई बन्द गरेका हौँ,’ ज्ञवालीले भने, ‘अब त्यसलाई भत्काएर सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्छौं।’ 

त्यस्तै, महानगरका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवसायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघमार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्ता गरेपछि सिलबन्दी गर्न बाध्य भएको जानकारी दिए । उनले काठमाडौँ महानगरको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि जानकारी दिए । नगर प्रहरी प्रमुख धनपती सापकोटाले पनि व्यवसायीहरुलाई पटक–पटक सूचना दिँदा पनि नहटाएपछि आज प्रहरी र नगर प्रहरीले सिल गरेको जानकारी दिए। 

पसल सिल गर्ने क्रममा व्यापारीले बिना सूचना हटाएको भन्दै हो–हल्ला गरेका छन् । प्रहरीले उनीहरुलाई माइकिङ गर्दा पनि नहटेपछि अवरोध गर्ने केहीलाई समातेको समेत छ। 

सिटी मार्केट व्यापार संघका सचिव सुवाचन्द्र खत्रीले सम्झौता सकिए पनि कोरोना महामारीले थला परेका व्यवसायीहरुलाई राहत दिनु पर्ने अवस्थामा महानगरले अपराधीको जस्तो व्यवहार गरेको बताएका छन्।

महानगरले कुनै पनि जानकारी नै नदिइ एक्कासी बजार सिल गर्यो । उनले भने,‘कोरोना महामारीको मारमा परेर उठ्न नसक्ने गरी थला परेका व्यवसायीहरुलाई गुण्डागर्दी तरिकाले सिल गर्नु न्याय सम्मत भएन।’

Logo