अन्ततः सरकारले आन्दोलनरत राप्रपालाई वार्ताका लागि बोलायो

काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई वार्ताको लागि बोलाएको छ । हिन्दुराष्ट्र पुर्नस्थापना लगायतका विभिन्न मागहरु अघि सारेर आन्दोलन गर्दै आएको राप्रपालाई सरकारले वार्ताको लागि औपचारिक रुपमा पत्र पठाएको राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । सरकारका तर्फबाट कानुनमन्त्री भानुभक्त ढकालले आइतबार पत्र पठाएका हुन् ।

राप्रपाले प्रजातन्त्र दिवसको अवसर पारेर गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदें माग बुझाएको थियो । हिन्दुराष्ट्रको पुर्नस्थापना, राजासहितको गोलमेच सम्मेलन गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।

सरकारले वार्ताका लागि पत्राचार गरे लगत्तै मंगलबार दुई पक्षबीच वार्ता हुनेछ । राप्रपाको पहिलो चरणको आन्दोलन समाप्त हुनै लाग्दा सरकारले उसलाई वार्तामा बोलाएको हो ।