सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा

सोलुखुम्बुका तीन स्थानीय तह साक्षर घोषणा


जिल्लाको तीन स्थानीय तहलाई साक्षर स्थानीय तह घोषणा गरिएको छ । शनिबारदेखि थुलुङ दुधकोशी गाउँपालिका पनि साक्षर गाउँपालिका बनेसँगै साक्षर स्थानीय तहकाे संख्या ३ पुगेकाे हाे । गाउँपालिका केन्द्र मुक्लीमा आयोजित कार्यक्रममा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको प्रवक्ता भुपाल सिं राईले जानकारी दिए । 

१६ वर्षदेखि ६० वर्ष उमेर समूहका ९१६ निरक्षरलाई साक्षर बनाउनका लागि गाउँपालिकाले सञ्चालन गरेको कार्यक्रममा ९०२ जना सहभागी भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । यसरी हेर्दा ९८.५ प्रतिशत थुलुङदुधकोशीबासी साक्षर बनेका छन् ।

थुलुङ दुधकोशीमा २०६८ सालको जनगणनामा १९ हजार ६७२ जनसङ्ख्या रहेकामा पालिकाको वस्तुगत विवरण २०७७ अनुसार २२ हजार ३७५ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै गएको मङ्गलबार मात्रै जिल्लाको नेचा सल्यानलाई पनि साक्षर गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका प्रवक्ता धर्मध्वज खत्रीका अनुसार कुल १५ हजार ५२६ जनसङ्ख्यामध्ये ९७ प्रतिशत साक्षर भएपछि साक्षर गाउँपालिका घोषणा गरिएको हो । साक्षर गाउँपालिका घोषणा गर्ने नेचासल्यान पहिलो गाउँपालिका बनेको हो । 

त्यसैगरी बिहीबार जिल्लाको एक मात्र सोलुदुधकुण्ड नगरपालिकालाई पनि साक्षर नगरपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सङ्कलन गरिएको तथ्याङ्कअनुसार सोलुदुधकुण्ड नगरपालिकाको कूल जनसङ्ख्या २४ हजार ३२३ मध्ये ९६.५२ प्रतिशत साक्षर रहेको बताइएको छ ।

नेपालको नीतिअनुसार ५ प्रतिशत नागरिक निरक्षर हुँदा पनि साक्षर स्थानीय तह घोषणा गर्न सकिन्छ । जिल्लाको स्थानीय तहका अनुसार साक्षरता बढाउनका लागि टोल बस्तीमा कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।

Logo