आङ सिरिङ्ग हुने अपराध : ८० लाखको लोभमा महिलाको हत्यापछि औंला काटियो

आङ सिरिङ्ग हुने अपराध : ८० लाखको लोभमा महिलाको हत्यापछि औंला काटियो


कृष्ण कुर्मी चौधरी (४५) ले फागुनको पहिलो साता अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानसँग भेट गरे। मुसलमानद्वयको घर कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२, नन्दनगर हो। कृष्णको चाहिँ सोही गाउँपालिका–५ हो। भेटमा उनीहरूलाई कृष्णले अनौंठो र अचम्म लाग्ने कुरा गरे। त्यो हो – ‘मान्छेको हातका औंला ल्याउनू।’

यसपछि कृष्णले नै भने, ‘दुवै हातका बूढी औंलाबाहेकका ८ वटा औंला ल्याइयो भने ७०–८० लाख रुपैयाँ दिन्छौं।’ अब्दुल र बेलालले कुरा सुने। तर, गम्भीर रूपमा लिएनन्। त्यतिकै घर फर्किए।

घर फर्किएपछि कृष्णले भनेअनुसार दुवैले गरेनन्। त्यसका लागि त हत्या अपराध नै गर्नुपर्थ्यो।
सोही कारण दुवैले त्यसो गर्न चाहेनन्। फेरि १३/१४ दिनपछि दुवैलाई कृष्णको फोन आयो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीका अनुसार फोनमा कृष्णले ‘खोइ ! सामान? सामान चाहियो। पैसा आउँछ।’ भनेका थिए।

यसरी पटकपटक हातका औंला मागेपछि अब्दुल र बेलालले सल्लाह गरे। त्यही क्रममा ४२ वर्षीया सरजहाँ दर्जीको हातका औंला काट्ने निधो गरे।

त्यसका लागि उनीहरुले सरजहाँलाई मार्ने योजना बनाए। सरजहाँसँग उनीहरूको १०/१५ वर्षदेखि चिनजान थियो। एकअर्काको घरमा आउजाउ गरेका पनि हुन्। फोनमा हुने बोलचाल त छँदैछ।

फोन कल डिटेल्स् अध्ययन गर्दा एक/दुई दिनको अन्तरमा सरजहाँसँग दुवै जनाको कल हुने देखिएको पनि भण्डारीले बताए।

यति घनिष्ठ सम्बन्ध भएका कारण अब्दुल र बेलाल फोन गर्दा सरजहाँ आउनेमा विश्वस्त थिए। उनको माइतीघर सोही ठाउँमा हो।

अन्ततः बोलाए पनि। सरजहाँ बोलाएकै ठाउँमा आइन्। तर, हत्या गर्न माया लागेपछि फर्काए।
फेरि कृष्णले ‘खोइ सामान (औंला) आएन त,’ भने। त्यसपछि सरजहाँको जसरी पनि हत्या गर्नेमा दुवै निष्कर्षमा पुगे।

र, १२ चैतको राति अन्दाजी ८ बजे अब्दुलले सरजहाँलाई फोन गरेर हर्दिहवा बोलाए। आइन् पनि। जुन ठाउँ सोही गाउँपालिकाको वडा नम्बर–३ मा पर्छ।

त्यहाँ केहीबेरको गफगाफपछि फकाएर उनीहरूले सोही गाउँपालिकाको वडा नम्बर–६ को बेतीया नदी किनारको चौरमा लगे। केहीबेर त्यहाँ पनि गफिए र त्यहीँ अन्दाजी १० बजेतिर दुवैले सरजहाँको घाँटी थिचेर हत्या गरे।

हत्यापछि भने दुवै हातका औंला बेलालले काटेको अनुसन्धानको क्रममा खुलेको डीएसपी भण्डारीले बताए।

उनका अनुसार काट्न प्रयोग भएको हतियार गाउँघरमा मासु काट्न प्रयोग गरिने ठूलो चक्कु हो।

औंला काट्ने आपराधिक मिसन पूरा भएपछि अब्दुलले सरजहाँको शवलाई बोरामा हाले। चारवटा ढुङ्गासमेत बोरामा हाले।

त्यसो गर्नुको कारण नदीमा शव फाल्दा पानीमाथि नतैरियोस् भन्नका लागि हो ।
त्यसपछि अब्दुलले शव बेती नदीमा फाले। उनको शव चैत २० गते मात्रै फेला परेको थियो।

काटिएको औंला सुकाउँदा कागले लग्यो ! 

कपिलवस्तुका डीएसपी भण्डारीका अनुसार घटनाको अनुसन्धानको क्रममा सरजहाँको दुवै हातको गरी ८ वटा औंला काटिएपछि भने अब्दुलले कृष्ण कुर्मीलाई ४ वटा औंला दिएको खुलेको छ।

जो औंला माग्ने व्यक्ति हुन्। औंला पाएपछि कृष्णले दुईवटा चाहिँ रामहरक यादवलाई दिए। कर्णबहादुर सुनारलाई दुईवटा दिए। कर्णबहादुरले दुइटै औंला खेमबहादुर मल्ललाई दिए।
बेलालले सत्यनारायण बढाइ र जालिम मियाँलाई दुई/दुईवटा दिए। जालिम तान्त्रिक व्यक्ति हुन्। उनी बाबाको रूपमा कपिलवस्तुमा चिनिन्छन्।

कपिलवस्तु प्रहरीले हाल छ वटा औंला फेला पारेको छ। दुईवटा फेला पारेको छैन।
फेला नपरेको दुईवटा औंला कहाँ हरायो? कपिलवस्तुका डीएसपी भण्डारीले रामहरक यादवले उनले प्राप्त गरेको दुईवटा औंला डोरीले बाँधेर सुकाएर राख्दा कागले लगेको भनेको बताए। उनले खोजी कार्य जारी रहेको बताए।

झारफुक गर्दा तन्त्रमन्त्र लगाएर ‘लोड’ गर्न औंला 

सरजहाँको हत्यापछि औंलाको कारोबारी आठजना नै पक्राउ परिसकेका छन्।

अनुसन्धानको क्रममा उनीहरूले झारफुक गर्नेबेला तन्त्रमन्त्र ‘लोड’ गर्न औंलाको आवश्यकता पर्ने भएकोले हत्या गरेको गराएको बताएको डीएसपी भण्डारीले बताए।

प्रहरीले ७०/८० लाख रूपैयाँ दिने भनेर कृष्णलाई कसैले भनेको हुन सक्ने अनुमान गरेको छ।
डीएसपी भण्डारीले घटनाको विस्तृत अध्ययन गरिरहेको बताए।

बुबाको मृत्यु भएको दशकपछि आमाको हत्या हुँदा…

सरजहाँको विवाह भारतमा भएको पारिवारीक स्रोतले जनाएको छ। सम्बन्ध राम्रो नभएपछि श्रीमानसँग उनको सम्बन्ध विच्छेद भएको थियो।

रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरमा उनको दोस्रो विवाह भयो। उनका चार छोरी र एक छोरा छन्। श्रीमानको मृत्यु भइसकेको छ। आमाको हत्यापछि छोराछोरी अनाथ भएका छन्। 

प्रहरीले घटनामा संलग्न सबैलाई संगठित अपराध, कर्तव्य ज्यान र मानव बेचविखन तथा ओसारपसारको कसूरमा सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ।

मुद्दा दर्तापछि प्रहरीले घटना विस्तृतमा अनुसन्धान गरिरहेको डीएसपी भण्डारीले बताए।

Logo