कृषि मन्त्रालयद्वारा १४ बालीका ३६ नयाँ जात सिफारिस

कृषि मन्त्रालयद्वारा १४ बालीका ३६ नयाँ जात सिफारिस


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्मोचित विभिन्न १४ वटा बालीका नयाँ जातको अनुमोदन गरेको छ। सरकार तथा निजी क्षेत्रबाट उन्मोचन तथा दर्ताका लागि प्रस्ताव गरिएका विभिन्न बालीका ३६ जातको अनुमोदन गरी मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशनका लागि सरकारलाई सिफारिस गरेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिए।

३६ वटा जातमध्ये नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उन्मोचन गरेका मकै, गहुँ, फापर र गोलभेँडाका १५ वटा जात छन् भने बाँकी २१ वटा जात निजी क्षेत्रले उन्मोचन गरेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंले जानकारी दिए।

धानका टीएमआरएच १२४, एमपीआर ५०५, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी, २७ पी २२ र आरएचआर १११ गरी छवटा जात दर्ता गरिएको छ। मकैका मनकामना–१ जातको एक, गहुँको मुडुले एक, कौटीला, तिला, सुर्मा, भेरीगङ्गा, हिमगङ्गा, खुमल शक्ति, जिङ्क, गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लोग–२०२० गरी १० वटा, फापरको तितेफापर १ र तिते फापर–२ गरी दुई जात उन्मोचन गरिएको छ। त्यस्तै कोदोको रातो कोदो जातको एक, उखुको जितपुर–५, ६ र ७ गरी तीनवटा जात, लट्टेको लाल मार्से जातको एक, चिनोको दूधे चिनो जातको एक, कागुनोको बरियो कागुनो जातको एकवटा बाली उन्मोचन गरिएको छ।

गोलभेँडाका पनि खुमल श्रेष्ठ एफ १ र खुमल गौतम एफ १ गरी दुईवटा जात उन्मोचन गरिएको छ। रायो सागको मनकामना रायो(स्थानीय) जात एकवटा, सिमीको पहेँलो सिमी जातको एक घिउ सिमीको खैरो घिउ सिमी एक र अलैँचीको रामसाई, गोलसाई, डम्बरसाई, भर्लाङ्गे र जिर्मले गरी पाँचवटा जात पनि दर्ता गरिएको कृषि मन्त्रालयले जनाएको छ।

त्यसैगरी बीउबिजन ऐन, २०४५ को दोस्रो संशोधन प्रमाणीकरणको चरणमा रहेको हुँदा प्रस्तावित ऐनअनुसार बीउबिजन नियमावली तयारी तथा संशोधनका कार्यलाई अगाडि बढाउन तथा प्रारम्भिक प्रतिवेदन तयार गरी समितिमा पेस गर्न बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख प्रसाईंको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको छ।गाेरखापत्रबाट

Logo