दुवै डोज भ्याक्सिन लगाएका स्वास्थ्यकर्मी संक्रमित हुन थाले

दुवै डोज भ्याक्सिन लगाएका स्वास्थ्यकर्मी संक्रमित हुन थाले


ग्रान्डी अस्पतालका रक्तसंचार विशेषज्ञ ( blood  transfusion  expert ) मित्र डा. बिपिन नेपाल कोरोना संक्रमित हुनुभएको छ। कोभिड-१९ (कोरोना भाइरसको प्रारम्भिक प्रारूप ) को प्रकोप ताका प्लाज्मा थेरापीबाट उहाँले धेरैजना संक्रमितलाई निको बनाउनुभएको थियो ।

स्वास्थ्यकर्मी भएको नाताले देशमा सुरू भएको भ्याक्सिनेसन अभियानमा डा. बिपिनले पहिलो चरणमै भ्याक्सिन लिने सौभाग्य पाउनुभएको थियो । यसै क्रममा उहाँले वैशाख ८ गते बुधबार भ्याक्सिनको दोस्रो डोज पनि लाउनुभयो ।

वैशाख १० गते शुक्रबार काठमाडौंको केएमसी सीनामङ्गल अस्पतालको ल्याबमा परीक्षण गराउदा उहाँको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । उहाँले दिएको जानकारी अनुसार उहाँको अर्धाङ्गिनी पनि संक्रमित हुनुभएको छ ।  पंक्तिकारलाई उपलब्ध जानकारी अनुसार नेपालमा दुबै डोज भ्याक्सिन लिएका  सिभिल हस्पिटल, वीर हस्पिटल र धरान हस्पिटलका केही अन्य स्वास्थ्यकर्मी पनि कोरोनाको दोस्रो छालमा संक्रमित हुन पुग्नुभएको छ ।

नेपालमा दुवै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित देखिनुले (भारतलगायत अन्य मुलुकमा भ्याक्सिनका दुवै डोज लगाएका थुप्रै व्यक्ति संक्रमित भइसकेका छन् ) के स्पष्ट सन्देश दिएको छ भने भ्याक्सिन लगाएका व्यक्ति पनि संक्रमित हुने जोखिम रहन्छ, जोखिम छ ।  तसर्थ नेपालमा भ्याक्सिन लिने सौभाग्य पाउनु भएका सबै महानुभावले भ्याक्सिन नलिएका व्यक्ति सरह नै संक्रमणबाट जोगिने समस्त उपाय र सावधानी अपनाउनु नितान्त आवश्यक छ ।  भ्याक्सिन पाएका व्यक्तिले जथाभावी गर्न हुन्न । उहाँहरूले पनि  संक्रमणबाट जोगिन गत वर्षका भाँति ( भ्याक्सिन नलाउँदा अथवा भ्याक्सिन नआउँदासम्म) सबै 'गाइडलाइन' पालन गर्नुपर्ने हुन्छ । 

डा. बिपिन मित्र एवं नेपालको प्लाज्मा एक्सपर्ट भएका कारण उहाँसँग २-३ पटक अन्तर्वार्ता गरेको  छु । पछिल्लो अन्तर्वार्तामा उहाँले भ्याक्सिनको पहिलो डोज लगाएका व्यक्तिको रगतमा एन्टीबडी जाँच गरेको बताउनुभएको थियो । 

भ्याक्सिन लाएको २८ दिन पछि भ्याक्सिन लिनेको शरीरमा एन्टीबडी बन्न थाल्छ । उहाँले भ्याक्सिन लिएका  झण्डै ७५ जना व्यक्तिको एन्टीबडी परीक्षण गर्नुभएको थियो । उहाँले आफ्नो एन्टीबडी परीक्षण गर्दा एन्टीबडी टाइट्रेशन स्तर ७ रहेको थियो । यो भनेको 'लो' टाइटर नै हो । 'लो' भए पनि एउटा कुरामा खुसी व्यक्त गर्नुपर्ने अवस्था किन थियो भने भ्याक्सिन निर्माता कम्पनीहरूले आफ्नो भ्याक्सिनको 'इफीकेसी' सार्वजनिक गरिरहेका हुन्छन् ।  नेपालमा प्रयोगमा ल्याइएको ऐस्ट्रेजेनका – कोभिशिल्डको भ्याक्सिनको  'इफीकेसी' ६५-७० प्रतिशत दाबी गरिएको थियो । डा. बिपिन निर्माता कम्पनीले गरेको दाबीअनुसार ६५-७० प्रतिशतमा पर्नुभएको थियो ।  स्मरण रहोस् भ्याक्सिन लिएका सबै व्यक्तिमा भ्याक्सिन कारगर भएर एन्टीबडी बनाउदैन ।  कम्पनीकै दाबीअनुसार १०० मध्ये ६५-७० व्यक्तिमा मात्रै एन्टीबडी बन्छ अर्थात भ्याक्सिन लिएका ३०-३५ ( १०० मध्ये ) व्यक्तिलाई भ्याक्सिनले प्रदान गर्ने सुरक्षाचक्र पाइदैन ।

भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनु आश्चर्य अथवा भयभीत हुने कुरा होइन । सबै भ्याक्सिन लाउने मानिसले बुझ्नुहोस – भ्याक्सिन भनेको कोरोना संक्रमण हुनबाट रोक्ने प्रविधि अथवा चिकित्सा सुविधा होइन ।  भ्याक्सिन लाएको मानिस पनि कोरोना संक्रमित हुन सक्छ, निको भएर पनि बारम्बार संक्रमित हुन सक्छ।

भ्याक्सिनले शरीरको इम्युनिटी पावरलाई कोरोना भाइरससँग लड्ने तरिका, लड्नलाई चाहिने अस्त्रशस्त्र (एन्टीबडी) प्रदान गर्छ । कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्न  रोक्न सक्दैन ।  कोरोना भाइरस  संक्रमणविरुद्ध बनेका सबै भ्याक्सिनको वास्तविकता यही नै हो ।  कोरोना भाइरस मात्रै किन अन्य घातक भाइरसविरुद्ध बनेका संसारका सबै भ्याक्सिनको वास्तविकता यही नै हो ।  भ्याक्सिनले तत तत भाइरसविरुद्ध शरीरको इम्युनिटी पावरलाई  भाइरसविरुद्ध लड्न प्रशिक्षित गर्ने हो।  यसै कारणले संक्रमित भइसकेपछि भ्याक्सिनले कुनै काम गर्दैन ।  भ्याक्सिनेसनको अर्थ भाइरससँग लड्न गरिने पूर्वतयारी हो । सबै भाइरसकाविरुद्ध बनेका भ्याक्सिनले एन्टीबडी बनाउन केही समय लाग्छ।

भाइरस 'ace २ रिसेप्टर्स'का माध्यमले शरीरमा प्रवेश गर्छ । कोशिकामा हुने यस एन्जाइमका माध्यमले नै कुनै पनि भाइरस अथवा बाहिरी तत्व कोशिकामा प्रवेश  गर्छन ।  भाइरसको प्रकृति अनुसार भाइरसले शरीरको निश्चित कोशिकालाई आफ्नो शरणस्थली (होस्ट ) बनाउँछ ।  सबै भाइरसले शरीरका सबै कोशिकालाई आफ्नो 'होस्ट' बनाउन सक्दैनन् ।  कोरोना भाइरस कोभिड-१९  'सिंगल स्ट्रयान्ड पोजिटिभ सेन्स अरएनए' ( Positive-strand RNA viruses (+ssRNA viruses) भाइरस हो । यस भाइरसले  messenger RNA (mRNA) का रूपमा 'होस्ट' कोशिकाको राइबोसोम (host cell's ribosomes ) अथवा यसबाट बनेको प्रोटिनबाट आफ्नो प्रतिकृति (रिप्लिका ) बनाउँछ । कोरोना भाइरसलाई आफ्नो प्रतिकृति तयार पार्न एउटा विशेष खाले प्रोटिन आवश्यक हुन्छ । यसले यो प्रोटिन फोक्सोको कोशिकाबाट ग्रहण गरी आफ्नो जनसँख्या वृद्धि गर्छ।  भ्याक्सिनले न त 'ace  २ रिसेप्टर्स'लाई ब्लक गर्छ, न त कोशिकामा त्यों प्रोटिनको उत्पादनलाई बाधित गर्छ जुन कोरोना भाइरसलाई आफ्नो प्रतिकृति निर्माण गर्न परम आवश्यक हुन्छ । यो काम एन्टिभाइरल औषधिले गर्छन ।  भ्याक्सिन एन्टिभाइरल औषधि होइन।

भ्याक्सिन लगाएका र भ्याक्सिन नलगाएका व्यक्तिमा अन्तर यति हुन्छ कि भ्याक्सिन लगाएका व्यक्तिको इम्युनिटी पावरलाई शरीरमा प्रवेश गरेको कोरोना भाइरससँग जुध्ने तरिका थाहा हुन्छ ( यदि भ्याक्सिनले शरीरमा एन्टीबडी बनेको छ भने) ।  तसर्थ कसैले पनि भ्याक्सिनको विरोधमा लाग्नु हुँदैन।  आफ्नो पालो आउँदा  भ्याक्सिन लिनुपर्छ । तर भ्याक्सिन लिँदैमा मलाई कोरोना संक्रमण हुँदैन भन्ने दम्भ कसैले पनि राख्न मिल्दैन ।  भ्याक्सिन लगाएका व्यक्ति पनि कोरोना  संक्रमित हुन्छन् तर यदि उनीहरूमा भ्याक्सिनले एन्टीबडी बनाएको छ भने उनीहरू भ्याक्सिन नलिएको व्यक्तिको तुलनामा भाइरससँग लड्न बढी सक्षम हुन्छन् । डाक्टर बिपिनको शरीरमा बनेको एन्टीबडीले संक्रमणविरुद्ध लड्न मदत गर्छ।

नेपालमा कोरोना भाइरसको दोस्रो छाल उच्चस्तरमा पुगिसकेको छ तर पनि अहिलेसम्म चरमअवस्था आइसकेको छैन ।  अहिले नै देशभरी दिनहुँ २ हज़ार ५०० संक्रमित देखिन थालेका छन्।  जेठ महिनाको अन्त्यसम्म यो संख्या सोचेभन्दा पनि धेरै उच्चस्तरमा पुग्ने सहज अनुमान गर्न सकिन्छ। कोरोनाका नयाँ-नयाँ भेरिएन्ट नेपालमा आइसकेका छन, संक्रमणदर बढ्दै गइरहेकोले यो कुरा स्वतः प्रमाणित छ।

जुन महानुभावहरूले पहिलो डोजको भ्याक्सिन लिइसक्नुभएको छ उहाँहरूले दोस्रो डोज लिन बेवास्ता गर्नुहुन्न।  तर, जसले पहिलो डोज लिने अवसर पाउनुभएको छैन उहाँहरूले भ्याक्सिनको पछाडि लाग्नुको कुनै अर्थ अथवा तुक छैन।  किनकि भ्याक्सिनले बनाउने एन्टीबडी बन्न कम्तिमा २८ दिनको समय लाग्छ। तसर्थ  भ्याक्सिनका लागि मरिहत्ते गर्नुभन्दा सबैजनाले आफू सुरक्षित हुने सबै उपाय अवलम्बन गर्नु नै श्रेष्यकर हुन्छ। कोरोनाका नयाँ भेरिएन्टको मृत्युदर पहिलाको तुलनामा डराउने खाले छैनन् तर यसको प्रसारदर भने पहिलाको तुलनामा अत्यधिक छ। नेपाल जस्तो देशमा संक्रमणदर बढी हुनु पनि डरलाग्दो नै हो ।  किनकि हामीकहाँ 'मेडिकल फेसिलिटी' सीमित छन्।  बढी संक्रमित हुँदा बढी व्यक्तिलाई चिकित्सा सेवा,डाक्टर, अक्सिजन, आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्न  जान्छ।  'मेडिकल फेसिलिटी' न पाउँदा मृत्युदर बढ़न सक्छ।

यस लेखका मार्फत सबै नेपाली दाजुभाई दिदीबहिनीहरूसँग विनम्र आग्रह गर्छु कृपया सचेत हुनुस्, सावधान हुनुस्।  गत वर्षतिरझै आफ्नो सुरक्षाका सबै साधन र उपायको तदारूकताका साथ पालन गर्नुस्, अरुलाई पनि पालना गर्न लाउनुस्।  सरकार अथवा अन्य कोहीले तपाईंको सुरक्षा गर्न सक्दैन। गत वर्ष संक्रमणबाट जोगिन अथवा संक्रमण हुँदा तपाईंहरूले जे घरायसी साधन उपाय, सचेतता अपनाउनुभएको थियो ती सबै स्मरण गरी तदारूकताका साथ आजैदेखि दिनचर्यामा सम्मिलित गर्नुस्। मेडिकल साइन्ससँग पनि कोरोना संक्रमण निको बनाउने कुनै औषधि छैन। अस्पतालमा डाक्टरहरूले प्रयोग गर्ने रेमेडीसीभीर कोरोना संक्रमणको औषधि होइन। संक्रमणका कारण भएको निमोनियाका लागि हो रेमेडीसीभीर ।

तपाईंसँग संक्रमणबाट जोगिन भएका घरेलु -आयुर्वेदिक- होम्योपैथिक अन्य जे साधन तथा उपाय छन् प्रयोगमा ल्याउनुस्।  संक्रमण भएको खण्डमा अस्पताल धाउनुको सट्टा घरमै आइसोलेसनमा बसी आयुर्वेदिक, होम्योपैथिक तथा घरेलु साधन प्रयोग गर्नुस्।  याद  गर्नुस्, नेपालमा चिकित्सा सेवा अति न्यून छ ।  यस सेवालाई गम्भीर संक्रमित भएका व्यक्तिका लागि सुनिश्चित गर्नुस् ।  तपाईं हामी सबैजना सचेत भएमा मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ । जीवनभन्दा ठूलो अन्य केही कुरा हुन सक्दैन।

एकपटक पुनः सबै पाठकलाई जानकारी गराउन चाहन्छु कोरोनाका नयाँ भेरिएन्टको प्रसारदर मात्रै बढी हो, मृत्युदर बढी होइन । र, यी सबै भेरिएन्टलाई कोभिड-१९ संरक्रण नियन्त्रण गर्न सकिन्छ । कसैले पनि आत्तिनुको सट्टा आत्मविश्वासका साथ वर्तमानको मुकाबिला गर्न तयार र सजग रहनु पर्छ।  हाम्रो सजगता नै हाम्रो सुरक्षाको सर्वोत्तम उपाय हो। 

Logo