कथाः परम्पराको निरन्तरतामा

के जात्रा देखाएको हो त्यसरी ? खानै नपाए पनि दिनुहुन्न स्वास्नी कुट्नेलाई आफ्नी बहिनी । एक्कासी भेट भएको रामजीले एकै सासमा रञ्जुको दाजुसँग भन्यो ।

उसको दाजु एकैछिन् अलमल्ल पर्यो । केही सोचेजस्तो गर्यो  । अनि सोध्यो, “के भन्यौ रामजी तिमीले ? कसले जात्रा देखायो ?” “अझ नबुझेजस्तो गर्ने कस्तो दाजु हौ तिमी, बहिनी दिएपछि फर्केर जानुपर्दैन ? के छ कसो छ बुझ्नु पर्दैन ?” रामजी कड्किदै बोल्यो । ऊ भने अझै अन्यौलमा नै छ ।

“हिजो तिम्रा ज्वाइँले बहिनीलाई बाटोमा कुट्दै र’छन् । हातमा लौरोले हानेर रगतपिच्छे । सडकमा सबै रमिते बनेर हेरेका ।” रामजीले यतिसम्म भनिसकेपछि बल्ल दिपकले बहिनी कुटेर ज्वाइँले सडकमै तमासा देखाएछ भन्ने बुझ्यो । “तिमीले केही पनि भनेनौ त रामजी ?” केहीबेर पछि उसले सोध्यो ।

सबै कुरा गर्नलाई एक त दुईजना लोग्नेस्वास्नी बीचको कुरो । अर्काे म सम्बन्धित मान्छे पनि होइन । तर पनि मैले भनेँ, “तिमीलाई अरुले छोरीचेली कुट्न दिएका होइनन् ? तिम्रा बाहिर आँखामा मात्र होइन भित्री आँखामा पनि दृष्टि रहेनछ । तिमीले केजाति पढेको यही हो ?”
हे भगवान् के सुन्नु पर्यो ! दिपकलाई रिंगटा लागेजस्तो भयो । थचक्क भुइँमा बस्यो । खल्तीबाट अघि भर्खर निभाएर राखेको चुरोटको आधा खिली झिकेर सलाई कोर्यो  । सा.. जिन्दगी ! चुरोटको धुवाँ उडाउँदै बोल्यो ।

आमा सानैमा मरिन् । बाबु पनि बेपत्ता भए । मैले बल्ल बल्ल हुर्काएर दुईचार अक्षर सिकाएँ । टुहुरी हो सुख पाउली कि भन्ने लाग्यो । आँखा नदेखे पनि पढेको केटो भनेर मन बुझाएँ । खानलाउन त पाखुरा चलाएर पनि पुग्ला । रञ्जु मेहनेती छ । दुबैले मिलेर गरे भने दुःख नपाउलान् भन्ने ठानेको थिएँ ।

आफूलाई यत्ति कुरा सुनाएर रामजी कतिबेला हिडिसकेछ उसलाई पत्तै भएन । एकैछिन उसको प्रतिक्रियाका लागि नजिकै उभिएको थियो । उसले खल्तीबाट चुरोट झिकेर सल्काउँदासम्म त पर्खेकै हो जब ऊ आफैँ एक्लै ओठ फरफराउँदै बोल्न थाल्यो तब उसले आफू हिड्नुमा नै उपयुक्त ठान्यो । एकैछिन्मा आकाशमा कालो बादल मडारिएजस्तो भयो । माना, असिना पानी वर्षेला जस्तो । उसलाई यति असहज महसुस भयो कि उसले केही सोच्नै सकेन । ऊ त्यहाँबाट उठेर हिड्यो ।

केहीबेर हिडेपछि ऊ एकछिन् सडकमै उभियो । यता जाऊँ कि उता दोधारे मनस्थितिले उसलाई आफ्नै घरतिर डोहो¥यायो । उसलाई अहिले थोरै ग्लानी भयो । मैले बहिनीको स्वतन्त्रतामा धावा बोलेकै हुँ । आँखा नदेख्ने केटो सधैँ स्याहार गर्नुपर्ला, आफ्नो मात्रै भरमा कसरी जीवन चल्ला र ? उसले पनि सोची होला थुप्रै कुराहरू । उसका पनि थिए होलान् धेरै सपनाहरू । तर मैले उसको यी सबै कुरालाई ओठ बाहिर निकाल्ने अवसर दिइन । उसको इच्छा सुनाउने मौकै दिइन । अफिसबाट के काममा निस्किएको थियो उसले काम पनि बिर्सियो । उसलाई कहिले घर पुगेर श्रीमतीसँग यो कुरा बिसाऊँ भयो ।

शान्तिकला घरमुन्तिर बारीमा मकै गोड्दै रहेछिन् । प्रायः दिउँसो घरमा नआउने आफ्नो श्रीमानलाई दिउँसै आँगनको डिलमा उभिएको देखेर उनले ठाडो घाँटी लगाएर माथि हेरिन् । उसले हातले आऊको इशारा ग¥यो । ऊ मनको उकुस मुकुस सुनाएर केही बेरको लागि भए पनि शान्त हुन चाहन्थ्यो ।

शान्तिकला गोडमेल गर्दा उखेलिएका र बेडाएका मकैको मुठो बोकेर घर आइपुगिन् । यतिन्जेलसम्म बस्दै नबसेको दीपक अब भने पीँढिको डिलमा थचक्क बस्यो । शान्तिकलाले मुखमा हेर्दै भनिन्, “हैन सन्चो भएन कि के हो ?” उसले श्रीमतीको प्रश्नमा ध्यानै नदिई अर्काे प्रश्न ग¥यो, “हाम्री रञ्जु माइतीमा आएर कहिले गएकी हो शान्ति ?” उनले केही सम्झेजस्तो गरेर भनिन्, “अस्ति आमा खुवाउने औँसीमा के त भर्खर दुईहप्ता भयो, बहिनीको न्यास्रो लाग्यो ?”

रञ्जुलाई त्यसले कुटेर मार्न लाग्यो रे ! हेर न के गर्ने होला ? दीपकले शान्तिको मुखमा हेर्दै भन्यो । “कुट्यो रे ! मेरी आम्मै के सुन्नुप¥यो ?” उसको कुराले शान्तिकला आश्चर्यचकित परिन् । हैन त्यत्रो कुराकानी गरेर दिएको होइन भन्या । आँखा नदेखेपनि पढेको केटा बुद्धि होला भनेर ….! अब के गर्ने होला ? आक्रोससँगै उनको मातृत्व पग्लेर आयो । उनले खुइए गर्दै मनमा लागेका कुरा भनिहालिन्, ‘अस्ति आउँदा अलि अँध्यारी भएजस्तो त लागेको थियो तर सानातिना केही कुरा होलान् के सोधिराख्नु भनेर मैले पनि वास्ता गरिन ।’

भेलिपल्ट शान्ति तुरुन्त पुगिन् नन्दको घरमा । उनले अरु केही नभनिकन घरमा दाजु बिरामी छन् भनेर रञ्जुकी सासु र दुलाहाकै अगाडि उसलाई लिएर फर्किन् । बाटोमा नन्दले भाउजूलाई सबै कुरा बताई । प्रकाशले मात्र होइन उसकी आमाले पनि काममा ढङ्ग नभएकी भनेर उसलाई गाली गर्दिरहिछन् । रञ्जुको कुरा सुनेर शान्तिको चित्त नराम्ररी काटियो ।

यो समाज कसरी परिवर्तन होला खै ? मान्छे पुरुषवादी सोच र परम्परावादी मानसिकताबाट कहिले उम्कने होला ? केटामान्छेमा भएको दुर्बलता कहिल्यै दुर्बलता नहुने, केटी मान्छेमा नभएको कमजोरी पनि खोजी खोजी पत्ता लगाउनुपर्ने ? यो कस्तो परम्परालाई समाजले प्रश्रय दिइरहेको छ ? मानिसका शारीरिक दुर्बलता आफ्ना ठाउँमा छन् । मानसिक दुर्बलताका कारण यो समाज दुर्गन्धित हुँदै गएको छ ।

घरमा पुग्ने बित्तिकै उनले ज्वाइँलाई फोन लगाएर भन्न थालिन्, “तिमीलाई हामीले सस्तो भएर हाम्री बहिनी दिएका हौँ ? हेर ! तिमीमा चर्मचक्षुको मात्र कमी रहेनछ । तिम्रो मनको आँखा देखेर दया लाग्यो । बिहे तिमीले गरेका हौकि तिम्री आमाले ? रञ्जुलाई हप्कीदप्की लाउने अधिकार तिम्री आमालाई कसले दियो ? नजानेको काम राम्रो तरिकाले पनि त सिकाउन सकिन्छ नि । ऊबेला सत्रचोटि घरैमा आएर रोयौ । दाजुले उसलाई पुलिसको हवल्दारसँग बिहे गरिदिने भनेका थिए । आँखा नदेखे पनि पढाइ राम्रै छ भनेर मेरो ढिपीले दिएको हुँ । तिम्रो माइतीले केही दिएनन् भन्छौ रे त ? रञ्जुकी आमा छैनन् भनेर त्यसो गरेका हौला आमा म नै हुँ । तिमीले आफ्नो बाचा यत्ति छिट्टै बिर्सियौ ? बडो जान्ने हुँदा रहेछौ । भोलि नै अदालतमा मुद्दा हालिन्छ । क्षतिपूर्ति तिर डिभोर्स गर । अहिलेसम्म धेरै बिग्रेको छैन तर हाम्रो स्वाभिमानमा ठेस लाग्यो ।”
आफ्नो हेल्लोको आवाज नपुग्दै रञ्जुकी भाउजूले यति भनेर फोन राखिन् ।

प्रकाशको शरीरमा चिटचिट पसिना छुट्यो । भननन्न रिंगटा छुट्यो । रञ्जुलाई पाउनका लागि उसले गरेको हर कोसिस सम्झियो । अन्य धेरै ठाउँबाट उही आफूजस्तै दुबै आँखा नदेख्ने केटी विहे गर्छु भन्दा पनि उसका बाबुआमाले नदिएको घटनाले उसको मन कटक्क दुख्यो । अझ एउटा मात्र आँखा भएकी केटी जो आफूसँगै नेत्रहीन संघको धुप बनाउने तालिममा भेटिएकी थिई । उससँग पनि धेरैपटक प्रस्ताव गरेको हो प्रकाशले । उसका बाआमाले केटाको दुबै आँखा नभएको र आफ्नी छोरीको एउटा मात्र आँखा त्यही पनि कम देख्ने हुँदा जीवन निर्वाह गर्न गाह्रो हुन्छ भनेर बिहे गर्ने अनुमति दिएनन् ।

मैले किन यसरी कुटेँ हुँला रञ्जुलाई ? उसले मलाई डो¥याएर हिडेकै छ । कहिलेकाहीँ अलि छिटो हिँड्छे । उसले आफ्नो मान्छे भनेर नै हो गुनासो गरेकी । मैले त्यसरी बीच बाटैमा सेतो छडीले कुट्न नहुने थियो । मान्छेले हातबाट रगत बग्यो सल बाँध भनेका थिए । फेरि मैले खुट्टामा लठ्ठीे हिर्काएँ । घर पुगेपछि आमाले पनि उसैलाई हप्काइन् ।

आमाले उबेलामा जस्तो भए पनि बुहारी भित्र्याउन पाए आनन्द हुन्थ्यो भनेकी थिइन् तर अहिले उनी पनि रञ्जुलाई कराउँछिन् । उसकी भाउजूले सम्पत्ति दिन सकिदैन, हामीले हुर्कायौँ, बढायौँ, काम सिकायौँ, हेलाँ गर्न पाइँदैन भनेकै थिइन् । किन होला आमाले बहिनी सरिलाईजस्तो माया नगरेको ? सरिलाई उसका घरकाले यसै गरे भने कहाँ जान्छे ? उसलाई पनि बिनादाइजो हामीले ज्वाइँको हातमा सुम्पेका हौँ ।

सडकमा धुप बेच्न बसेको उसले तुरुन्त आमालाई फोन गर्यो । “के…के ? के रे ? डिभोर्स गर्ने रे ? के भन्छ यो ? नडरा त्यसो गर्न सक्दैनन् ।” आमाले यसो भनिसकेपछि उसले रञ्जुकी भाउजुले फोनमा गरेको कुराकानीको रेकर्ड सुनाइदियो । यसपछि बल्ल उसकी आमाले तोरीको फूल देखिन् ।

साँझ घरमा आमाछोराको सल्लाह भयो । प्रकाशको मनमा धेरै डर लाग्यो । भाउजूले आफ्नै अगाडि श्रीमती लिएर गइन् । उसले रञ्जुलाई कुटेको दुईतीन पटक भइसकेको थियो । उसलाई जे पनि भन्ने बित्तिकै चाहिने । तुरुन्तै नगरे रिसको झोँकमा लम्की र झम्की गरिहाल्ने । यसमा उसकी आमाले अलि सम्झाउनु पर्नेमा उल्टै छोरालाई उचालिन् । सुरु सुरुमा बुहारीलाई मत्याउनु हुँदैन भन्ने मानसिकता कारण छोराको नराम्रो बानीले प्रश्रय पाएको हो ।

भोलिपल्टै प्रकाशका आमा छोरा रञ्जुलाई लिन गए । उसलाई कुनै हालतमा पनि घरमा नपठाउने कुरा भयो । प्रकाशको आमाछोरासँग दाजुभाउजूले निकै कुरामा छलफल गरे । उसकी आमाले बुहारी लगायत दाइ भाउजूसँग माफी मागिन् । प्रकाशले पनि आइन्दा यसो गर्दिन भन्यो ।

घरबाट निस्कदै गर्दा रञ्जुकी भाउजूले भनिन्, “हेर यिनी मेरी छोरी हुन् । तिमीहरूले नन्द भनेका हौला, म यिनकी आमा र भाउजू दुबै हुुँ ।” हाम्री बहिनी हामीलाई हरो भएको होइन नि । फेरि औँलो उठाउन नपरोस् दिपकले थप्यो । रञ्जुले भाउजूको मुखमा हेरी । उसले अहिलेसम्म आफ्नी भाउजूले आफ्नै पक्षमा यति कडा बोलेको सुनेकी थिइन । उसलाई भाउजूले आफूलाई पहिलो चोटि यति धेरै माया गरेको अनुभव भएको थियो । उसले आमा नभए पनि दाजुभाउजूले गर्ने वास्तविक माया थाहा पाई ।

उसलाई आफ्ना आमाबाबु नभएको हुँदा कसैले माया गर्दैनन् जस्तो लागेको थियो । उसले पर पुग्दासम्म दाइभाउजूलाई फर्की फर्की हेरिरही ।