पुस्तक समीक्षा: ‘फूलको विद्रोह’ भित्रका बुलन्द आवाजहरु

(ज्ञानमणि नेपाल कालोटोपी)

साहित्य कहिलेकाहीं यसकारण पनि विष्फोट हुन्छ कि यसले समाजमा व्याप्त अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउँछ । हामी समाज परिवर्तनका कुरा गर्छौं तर पुरानो सोच त्याग्ने कुरा कमै गर्छौं ।

तर, साहित्यकार अनिता न्यौपानेको कविता संग्रह ‘फूलको विद्रोह’ले भने यसपटक नारी उत्पीडन र समाजमा व्याप्त सामाजिक हेलाको भावना विपरित आवाज उठान गरेको छ । लाग्छ, यो पछिल्लो समयको एउटा गजबको साहित्यिक झटारो साबित भएको छ , हाम्रो हेपाहा समाजको लागि ।

भर्खरै मात्र बजारमा आएको यो पुस्तकभित्र ४४ वटा कविताहरु अटाएका छन् । जति छन् सबै सशक्त छन् । बलिया छन् , मार्मिक अनि सन्देशमुलक पनि छन् । रुढिवादी नेपाली समाज र यहाँ रहेका मान्छेका नराम्रा स्वभावलाई सकारात्मकरुपमा परिवर्तन गराई नयाँ र सुन्दर समाजको दिशामा उनीहरुलाई अभिमुख बनाउने उद्देश्यले लेखकले आफ्ना स्वरहरुलाई कविता मार्फत व्यक्त गरेकी छिन् । शिष्ट र सौम्य भाषामा नारीचेतनाको वकालत गर्न फूलको विद्रोह सफल भएको छ ।

हजुरआमा भन्नुहुन्थ्यो–
गोठमा गाईले बाच्छी पाउँदा खुशी हुनेहरु
बुहारीले छोरी पाउँदा दुःखी हुन्थे
बाख्राले पाठी पाउँदा प्रसन्न हुनेहरु
श्रीमतीले छोरी पाउँदा निराश हुन्थे
नानी, हाम्रा पालामा छोरीचेली भएर जन्मनु
कम सकस थिएन ।

प्रस्तुत कविता परिवर्तित समय शिर्षकमा समेटिएको छ । यति पढ्दै थाहा हुन्छ , यस संग्रहमा कस्ता विषय समेटिएका होलान् । सिधै कसैलाई यीनै शब्दले भन्यो भने नराम्रो लाग्न सक्छ तर शब्द त्यहि भए पनि प्रस्तुती फरक भयो भने पक्कै यसले सार्थकता पाउँछ । ‘फूलको विद्रोह’ले यस्तै गरेको छ । डिभोर्स पेपरमा हस्ताक्षर गर्नुअघि , स्वास्नी , शहरको कथा, क्यानभासमा सपना, छोरीले सिकाएको प्रेम, अक्षरका विरुद्धमा, हरेक रात तिम्रो सपनामा, होस्टेलबाट फर्केको छोरा, म नथाक्ने मान्छे, उजाडिएको बस्ती आदि यस संग्रहका उल्लेख्य कविताहरु हुन् ।

हाम्रो समाज अहिले पनि पुरानै सोचमा छ । समय अनुसार फेरिन सकेको छैन । समाजमा व्याप्त विकृति र विसंगति उस्तै छ । महिला र पुरुष विचको विभेदको खाडल निकै गहिरो छ । कुरा एउटा र काम अर्को गर्ने पुरुषको जमात ठूलो छ । यस्तो अवस्थामा ‘फूलको विद्रोह’ले पक्कै केहि सन्देश दिन खोजेको छ । अर्को अर्थमा भन्नुपर्दा बोल्न नसक्ने नारीहरुको प्रतिनिधी पात्र बनेको छ फूलको विद्रोह । यसर्थ पनि यो एउटा उत्कृष्ट र संग्रहणिय पुस्तक साबित भएको छ ।

यति हुँदा हुँदै पनि प्रस्तुत संग्रहमा केहि कमीकमजोरीहरु पनि भेट्न सकिन्छ । हुन त उज्यालो छर्ने चन्द्रमामा पनि केहि काला धब्बा हुन्छन् भने जस्तै यसमा पनि केहि त्यस्तै बिम्बहरु देख्न सकिन्छ । नारीप्रधान भनेर यसले पुरुषका मुल्य मान्यतालाई केहि पछि पार्न खोजिएको छ । खासमा नारी र पुरुष दुवैलाई एउटै कित्तामा राखेर अघि वढ्नुपर्छ भन्ने सन्देश दिन सकेको भए झन राम्रो हुनेथियो ।

विद्रोह त भनिएको छ , तर समस्या मात्र उठान गरिएको हो कि जस्तो लाग्छ । सँगै समाधान पनि दिन सक्नु पर्ने, त्यसो नभएको पो हो कि लाग्न सक्छ । तर, यस्तो लागे पनि समग्रमा कविताले एकअर्काको निषेध भन्दा पनि सहकार्य र सहअस्तित्वका पक्षमा आवाज उठाएका छन् ।

सकारात्मक बिम्ब र प्रतिकहरुको उत्कृष्ट प्रयोगले संग्रह पठनीय छ । आकारको दृष्टिले पनि सुहाउँदो फूलको विद्रोहलाई मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो । यसलाई पाठकले १७५ रुपैयाँमा किन्न सकिनेछ ।