‘गण्डकीका सांसद शाहीलाई किन गायब पारियो, जवाफ देऊ सरकार?’: जनमोर्चा उपाध्यक्ष पौडेल

‘गण्डकीका सांसद शाहीलाई किन गायब पारियो, जवाफ देऊ सरकार?’: जनमोर्चा उपाध्यक्ष पौडेल


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि बुधबार हुने भनिएको मतदान जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि स्थगित भयो।

हाल शाही एक अस्पतालमा उपचाररत रहेको विवरण सार्वजनिक भएको छ। उनमा कोभिड पोजेटिभ देखिएको भनिएको छ।

उक्त पार्टीको प्रदेश संसदीय दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। तथापि, प्रदेश संसदमा ‘अस्वाभाविक गतिविधि’ हुँदै आएको चर्चामाझ सांसद शाही सम्पर्कविहीन भएपछि जनमोर्चामा खैलाबैला मच्चिएको छ।

बिहीबार बिहान उक्त पार्टीको उपाध्यक्षसमेत रहेकी संघीय सांसद दुर्गा पौडेलले वक्तव्य जारी गर्दै सांसद शाहीको स्थिति सार्वजनिक गर्न गण्डकी सरकारसँग माग गरेकी छिन्।

उनै सांसद पौडेलसँग केन्द्रविन्दुकर्मी जङ्ग तामाङले शाहीको पिसिआर रिपोर्ट, सम्पर्कविहीन हुनुको कारण र अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान? लगायत सवालमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश :

सांसद खिमविक्रम शाहीको पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा शंका गर्नुभएछ, किन?

सरकारी अस्पतालमा पिसिआर परीक्षण गराउँदा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो। जब सम्पर्कविहीन हुनुभयो, त्यसपछि अकस्मात् रिपोर्ट पोजेटिभ आएको भन्ने छ। त्यो रिपोर्ट निजी अस्पतालमा परीक्षण गराउँदा आएको रे!

यहाँ शंका हो। फेरि, अहिलेसम्म उहाँ सम्पर्कमा आउनु भएको छैन। हाम्रो संसदीय दलकी सचेतक पियारी थापाले सांसद  खिमविक्रम शाहीको स्थिति सरकारले सार्वजनिक नगरुन्जेलसम्म संसद् स्थगन गर्न निवेदन दिनुभयो। त्यसपछि संसद् स्थगन भएको छ।

त्यसपछि खोजी सुरु भयो। बल्ल थाहा भयो कि उहाँ अस्पतालमा हुनुहुन्छ भनेर। उहाँलाई त्यहाँ शंकास्पद रूपमा राख्नुपर्ने कारण के?

स्वयं हाम्रो संसदीय दलका नेता जाँदा भेट गर्न दिइएको छैन। पार्टीको प्रदेश इन्चार्ज जाँदा पनि भेट दिएको छैन। उहाँलाई अस्पतालमा प्रहरीको सुरक्षा पहरासहित राखिएको छ। किन राखियो? एक्कासि रिपोर्ट कसरी नेगेटिभ आयो? जबकि उहाँलाई केही समस्या देखिएको थिएन।

फेरि पनि भन्छु, उहाँलाई किन गायब गरियो? स्थिति जानकारी हुनुपथ्र्यो नि! यहाँ शंका गर्ने ठाउँ छैन र?

बुधबार उहाँ सम्पर्कविहीन हुनुभएको कतिबेला हो?

करिब दुई बजेतिर हुनुपर्छ। मैले सचेतक पियारी थापालाई फोन गरेकी थिएँ। संसद् अधिवेशनमा सांसदहरूले धारणा राख्दै हुनुहुन्छ भन्नुभयो। मैले ‘हाम्रो सबै माननीयहरू त हुनुहुन्छ नि?’ भनेँ।

उहाँले भन्नुभयो, ‘खिमविक्रमजी आउनुभएन, अब त मतदान सुरु हुने बेला हुन लाग्यो।’

अनि प्रदेश इन्चार्जलगायतले शाहीजीलाई फोन गर्न थाल्नुभयो। फोन स्वीच अफ रहेछ। कोठामा हुनुहुन्छ होला भनेर गाडी लिएर जानुभयो। जाँदा कोठा पनि बन्द देख्नु भएछ। कोठामा छैन। त्यसपछि कहाँ खोज्ने? तनाव भयो।

सचेतकजीलाई स्थिति सार्वजनिक नभएसम्म संसद् अधिवेशन स्थगनको माग राखेर निवेदन दिन माग गर्यौँ।

अनि सांसद शाहीलाई अस्पतालमा भेट्न को–को जानुभएको थियो ?

दलको नेता हुनुहुन्छ कृष्ण थापा। उहाँ जानु भएको थियो। प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य शंकर बराल पनि जानु भएको थियो। उहाँहरूलाई भेट गर्न दिइएको छैन। भेट्न नपाएपछि फर्किनुभयो।

भेट गर्न नदिनुको कारण के रहेछ?

त्यो थाहा छैन। त्यही भएर स्थिति स्पष्ट गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारलाई दबाब दिन मैले बिहीबार बिहान वक्तव्य जारी गरेँ। उहाँसँग कुरा गर्न पाउनुपर्छ भन्ने कुरा हो हाम्रो।

उसो भए उहाँको स्थिति सार्वजनिक नहुन्जेल संसद् अधिवेशन स्थगन गर्न लगाउने हो जनमोर्चाले?

चाहना त संसद् सुचारु हुनुपर्छ भन्ने हो। तर, उहाँको स्थिति सार्वजनिक नहुन्जेल स्थगन गर्दा राम्रो। प्रदेश सभामुखले पनि विवेक प्रयोग गर्ने होला।

अनि सांसद् शाही सम्पर्कविहीन हुनुलाई कसरी लिनु भएको छ?

उहाँको स्थिति प्रष्ट भएकै छैन। नभएकोले कसरी लिने भन्ने र?

उहाँ बिक्री हुनुभयो भन्ने लागेको हो जनमोर्चालाई?

पुष्टि नहुन्जेल भन्न सकिन्नँ। उहाँलाई भेटेर बोलेपछि मात्रै थाहा हुन्छ।
तर, एउटा कुरा सम्झाउँछु कि राष्ट्रिय जनमोर्चाको इतिहासमा सांसद हराउने गरेका थिएनन्। पहिलोचोटी हराउने काम भयो। मतदानका दिन खिमविक्रमजी हराउनुभयो। सम्पर्कविहीन हुनुभयो। यो अस्वाभाविक छ। हामीलाई दुःख लागेको छ।

फेरि संसदीय दलको निर्णय उल्लङ्घन गरेको भन्न पनि मिल्ने अवस्था अहिले नै छैन। त्यसका लागि पुष्टि हुनुपर्याे। यदि त्यसो गरेको हो भने त पार्टीले चाल्न सक्ने ‘एक्सन’ छँदैछ। त्यो पार्टीको अधिकार हो। 

तपाईं पार्टीको पनि केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। गण्डकीमा मतदान हुँदा मत चाहिँ अविश्वासको प्रस्तावको पक्षमै हुन्छ कि विपक्षमा? अविश्वासको प्रस्तावमा जनमोर्चाका सांसदहरूको हस्ताक्षर त छैन नि?

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने त संसदीय दलले निर्णय गरिसकेको छ। निर्णयअनुसार मतदान हुन्छ भन्नेमा पूर्ण विश्वास छ। 

Logo