अघिल्लो वर्ष पनि कोरोना देखेकै हो भन्दै खेलाँची गर्‍यौं, भयावह स्थिति भोग्दैछौं: डा. सुनिलकुमार शर्मा

अघिल्लो वर्ष पनि कोरोना देखेकै हो भन्दै खेलाँची गर्‍यौं, भयावह स्थिति भोग्दैछौं: डा. सुनिलकुमार शर्मा


डा. सुनिलकुमार शर्मा ढकाल मेडिसिटी अस्पताल, काठमाडौंका प्रमुख कन्सल्टेन्ट एवं जनरल सर्जरी तथा डाइजेस्टिीभ रोग विभागका विभागीय प्रमुख हुन्। कोरोनाको नयाँ भरियन्ट देखिएसँगै नेपालमा महामारी अनियन्त्रित बन्दै गएको छ। काठमाडौंलगायत मुलुकका प्रमुख सहरका सरकारी तथा निजी अस्पतालका बेड बिरामीले खचाखच भरिएका छन्। 

पछिल्लो समय महामारीको अवस्था, खोपको प्रभावकारिता र बच्ने उपायबारे डा. शर्मासँग केन्द्रबिन्दुन्युजकर्मी ज्ञानमित्रसृजना राईले गरेको संवादः

दुई डोज भ्याक्सिन लगाइसकेका केही स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ, के हो यो? 

कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि संक्रमण नहुने भन्ने ग्यारेन्टी हुँदैन। विश्वमा अहिलेसम्म राम्रो मानिएका फाइजर र मोर्डनाको भ्याक्सिनको प्रभावकारीता ९० प्रतिशत मात्र देखिएको छ। अहिले नयाँ नयाँ भेरियन्ट आइरहेका हुनाले भ्याक्सिन लिएका कुनै पनि व्यक्तिलाई पुनः संक्रमण फैलिनसक्ने सम्भावना देखिएको छ। 

एक तथ्याङ्क अनुसार पुनः संक्रमण भएका बिरामीमा भाइरसको असर कम हुने देखिएको छ भने मृत्युदर अत्यन्तै न्यून देखिएको छ। त्यसैले भ्याक्सिन लगाउनुको फाइदा भनेको गम्भीर र मृत्यु हुनबाट जोगिनु हो, संक्रमित हुनबाट होइन। 

 त्यसो भए भ्याक्सिन लगाए पनि पटक–पटक संक्रमित हुन सकिन्छ? 

यो कोरोना फेरि फर्किएर आउनुमा हामीमै दोष छ। सरकारभन्दा पनि हामी जनताले नै कोरोनालाई गम्भीर रूपमा लिएनौं।

त्यसैले, हामीले कोरोना सामान्य ठान्यौं। त्यति मात्र होइन, हामीले साउथ एसियनमा इम्युनिटी पावर धेरै छ भन्दै फुर्ति लगायौं, हामीले स्वास्थ्य मापदण्ड नै अपनाउन छाडिदियौं। 

कोरोनाको दोस्रो वेभ देखिनासाथ युरोपेली राष्ट्रले उच्च सतर्कता अपनाए। तर, दोस्रो वेभ आए पनि हामीले पुरानै जस्तो हो, हामीलाई खासै फरक पर्दैन भनेर लापरवाही गर्‍यौं। भोजभतेर, सभासमारोह, मेला, जात्रा, भिडभाड गर्‍यौं।

हामीले गरेका जति पनि कार्य छन्, यसले संक्रमण फैलिएको हो। अहिलेको नयाँ युके भेरियन्ट पहिलेको भाइरसभन्दा ४० प्रतिशत छिटो सर्ने देखिएको छ। त्यसैले अहिले बालबालिकामा पनि संक्रमण देखिएको हो। 

पहिलो वेभको सुरुआती चरणमै स्कुल बन्द गरेर बालबालिका संक्रमित नभएका हुन् त ?

यसमा नेपाल सरकारलाई धन्यवाद दिनैपर्छ। सरकारले पहिलो लकडाउन समयमै गर्‍यो। थोरै संक्रमित हुँदा पनि सरकारले लकडाउन गर्‍यो भन्दै हामीले आलोचना पनि गर्‍यौं। तर, लकडाउनको एउटै मात्र उद्देश्य हो संक्रमण बढ्न नदिने।

लकडाउनले रोगलाई रोक्ने या हटाउने होइन। तर, लकडाउनले संक्रमण दर स्थिर गराउँछ। संक्रमणको दर कम भएपछि अस्पताल, अक्सिजन सप्लाइ, बेड, आइसियु, शैया र डाक्टर अभिभूत हुँदैनन्।

अहिले भारतका चिकित्सक र स्वास्थ्यमन्त्रीले हामी अब धान्न सक्दैनौ भनेर हार खाइसकेका छन्। त्यो अवस्था नआओस् भनेर हामीले पनि सोच्नुपथ्र्यो। यसपालिको लकडाउन अलिक ढिलै भएको हो।

भारतको भयावह अवस्था देख्नेबित्तिकै नेपालमा पनि १०–१५ दिनअगाडि नै लकडाउन गर्नुपथ्र्यो। 
त्यसो भए नेपालमा ५ सयभन्दा बढी संक्रमित देखिनेबित्तिकै सरकारले लकडाउन गरेको भए कोरोना नियन्त्रणमा हुन्थ्यो त ? 

यसमा सरकारको मात्र दोष छैन, हाम्रो पनि छ। हामीले अघिल्लो वर्ष पनि कोरोना आएकै हो, झेलेकै हो भन्दै हेल्चक्र्य्राइँ गर्‍यौं । अस्पतालमा पनि पहिलेको जस्तो स्क्रिनिङ गर्ने, हात धुने कार्यमा कमी भइरहेको छ। यी सबै त्रुटिले गर्दा संक्रमित संख्या बढ्नेवाला छ। अर्को महत्वपूर्ण विषय भनेको हाम्रो खुला सीमा नाका हुन्।

नेपालका अधिकांश मानिस भारतमा रोजगारी गर्छन्। उनीहरूलाई नेपाल नफर्किनु भन्न मिल्दैन। उनीहरू आउँदा बस्ने क्वारेन्टिन र पिसिआर परीक्षणको व्यवस्था गर्नुपर्ने थियो, त्यो भएको छैन।

फेरि मानिस पनि क्वारेन्टिनमा राखिदिन्छन् कि भनेर चोरबाटोबाट लुकेर आइरहेका छन्। त्यसैले नेपालमा कोरोनाको दोस्रो वेभले भयावह अवस्था सिर्जना हुनेमा हामी चिकित्सक डराएका छौं। 

जुन किसिमले गत वर्ष सरकारले सुरुमै लकडाउन गरेर संक्रमित संख्या मत्थर बनाएको थियो र, बिरामीलाई उपलब्ध स्रोत–साधनले उपचार गर्न सम्भव भयो। तर, यसपालिको अवस्था हेर्ने हो भने अहिले नै सरकारी र निजी अस्पतालका सबै बेड भरिएका छन्, बेड नपाउने अवस्था छ। 

अस्पतालहरूमा अक्सिजनको अवस्था के छ ? 

अक्सिजनले अहिलेसम्म पुगिरहेको छ। तर, जुन हिसाबले अक्सिजनको खपत बढेको छ, त्यो चिन्ताजनक विषय छ। यसको अर्थ गत वर्ष धेरै कोरोना संक्रमित भए पनि सबैजनालाई अक्सिजन आवश्यक परेन। संक्रमित भएका १५–२० प्रतिशतलाई मात्र अक्सिजन आवश्यक परेको थियो।

यसपालि संक्रमित भएका अधिकांश बिरामीलाई अक्सिजन चाहिएको छ। पहिले १० जनालाई चाहिन्थ्यो भने अहिले ५० जनालाई चाहिएको छ। यसरी अक्सिजनको सप्लाई बढ्नेबित्तिकै हामी धान्न सक्दैनौं।

हामी भारतबाट अक्सिजन मगाइरहेका छौं। तर, अहिले भारतमै समस्या छ भनेपछि हामीले भोलिका दिनमा अक्सिजन ल्याउन सकेनौं भने स्थिति के होला ? त्यसैले हामी एकदमै खतरनाक अवस्थामा पुगिसकेका छौं। 

सचेत हुनु नै भाइरसबाट बच्ने उपाय हो ?

हाम्रो नेपाली समाज भिडभाडकै समाज हो। प्रायःजसो परिवारमा बस्ने बानी हुन्छ। त्यसैले बाहिर काम गर्न जाने कुनै एक जना संक्रमित भयो भने उसले पूरै परिवारलाई सार्न सक्छ। एकजना व्यक्तिले कम्तिमा २५–३० जनालाई सार्न सक्छ। त्यसैले, यो सचेत  हुने समय हो र, हामी नागरिकले हाम्रो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था हो। 

सरकारले अहिले गर्नैपर्ने के हो? 

सरकारको तर्फबाट तुरुन्तै अस्थायी अस्पताल र क्वारेन्टिन खडा गर्नुपर्ने हुन्छ। सरकारी अस्पतालमा अहिले कामको अधिक भार परिसकेको छ। सर्वसाधारण जाने भनेको सरकारी अस्पताल नै हो। निजी अस्पताल जाने सबैको पहुँच छैन। यसरी सर्वसाधरण जाने अस्पताल भरिएका छन् भने सरकारले अर्को अस्थायी अस्पताल बनाउनैपर्छ। त्यसको लागि बरु सहकार्य गर्न सकिन्छ। 

कोरोना बिरामीका लागि उपचार के हो? 

अहिलेसम्मका लागि उपचार भनेको ‘सपोर्टेड’ नै हो, जुन सिवियर बिरामीलाई गराइन्छ। सामान्य लक्षण वा माइल्ड अवस्था भएका बिरामीलाई अस्पताल भर्ना गर्दैनौं। 

उनीहरुलाई हामी घरै पठाउछौं, घरमा आइसोलेसन बस्न भन्छौं। नियमित व्यायाम गर्ने, स्वच्छ खाना खाने, बाफ लिने, कोठाको झ्याल खुला राख्ने र गाह्रो भएमा सिटामोल खाने सुझाव दिन्छौं। 

तर, शरीरमा अक्सिजनको कमी भयो भने तुरुन्त अस्पताल भर्ना हुनुपर्ने हुन्छ। यसले मृत्यु हुने सम्भावना कम बनाउँछ। अघिल्लो वर्ष अक्सिजन कम भएका बिरामी ढिलो अस्पताल भर्ना हुँदा मृत्युदर बढेको थियो। 

मेडिसिटी अस्पतालमा अहिले कोभिड बिरामी कति छन्?

अहिले मेडिसिटीले धेरैजना कोभिड बिरामी लिन थालिसकेको छ। अहिले मेडिसिटीको ७० बेड कोभिड बिरामीले भरिएको छ। मेडिसिटी अस्पतालको आठौं तल्लालाई पूर्ण रूपमा आइसोलेसन कक्षा नै बनाएका छौं। 

नयाँ भेरियन्ट पहिलेको कोरोनाभन्दा किन घातक? 

घातक होइन, यो संक्रामक चाहिँ हो। तर, हाम्रा लागि किन घातक भयो भने अघिल्लो वर्ष लकडाउन चाँडो भयो र, हामी समयमै सचेत भएका थियौं। २० जना संक्रमित भएकामध्ये १–२ जनाको मात्र मृत्यु भयो। यसले संक्रमित दर र मृत्युदर कम भयो।

तर, यसपालि हामी समयमा सचेत नभएकाले २० को सट्टामा २ सयजना संक्रमित भए। जसले गर्दा दोस्रो चरणको सुरुआतमै अवस्था गम्भीर बनेको हो। 

घरमै बस्ने संक्रमितले वैकल्पिक उपाय के लिने? 

घरमै आइसोलेसनमा बस्नेहरूले हरेक एक घन्टामा २० मिनेट घोप्टो सुत्ने, लामो लामो श्वास लिने, बाफ लिने, साधारण व्यायाम गर्ने, आत्मबल बढाउने, सकारात्मक सोच राख्ने, तलमाथि हिँडिरहने, कुल्ला गरियो भने आफ्नो रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

यसले भाइरससँग लड्न मद्दत मिल्छ। त्यसैले कोरोनाको मात्र होइन, धेरै रोगलाई औषधिको जरुरत नै पर्दैन। बिरामीको आ–आफ्नै स्वभाव हुन्छ, कतिपय व्यक्तिले औषधि नै खाँदैनन्। उनीहरुलाई औषधीको जरुरत नै पर्दैन। तर, कसैलाई सानो बिरामी पर्दा पनि औषधि खानुपर्छ। 

संक्रमित हुनबाट कसरी बच्ने ?

कोरोना लाग्नबाट बच्नका लागि स्वास्थ्य मापदण्ड जस्तैः मास्क लगाउने, समय–समयमा साबुनपानीले हात धुने र यसमा मुख्य कुरा आफ्नो ‘सोसियल बबल’ मै सीमित रहनुपर्छ। 
यो भनेको तपाईंको आफ्नो ५–६ जनाको परिवार या साथीभाइ हुन्छन्, त्यतिमा मात्र सीमित हुनुपर्छ। त्यसभन्दा बाहिर जानुहुँदैन। सबैजनाले यही नियम पालना गर्नुपर्छ। एकजना मात्र कतै बाहिर गइदियो भने उसले ती सबैलाई संक्रमण सार्छ। त्यसैले हामीले यो प्रणाली अपनाउनैपर्छ। 

अहिलेको स्थिति मूल्याङ्कन गर्दा आउने एक महिनाको अवस्था कस्तो होला? 

अहिलेको अवस्थालाई नियाल्दा एउटा मात्र भन्ने कुरा हो, पशुपतिनाथले सबैको कल्याण गरून्। यसबाहेक अरु कुनै शब्द छैन।

Logo