उपत्यकामा निषेधाज्ञाको आज सातौं दिन, झन् कडा बनाईंदै

उपत्यकामा निषेधाज्ञाको आज सातौं दिन, झन् कडा बनाईंदै


काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी भएको आज सातौं दिन पुगेको छ। यसअघि वैशाख १६ गते देखि २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। यस अवधिमा संक्रमणदर नघटेको र झन उच्च दरमा बढीरहेकाले आगामी २९ गतेसम्म निषेधाज्ञा हुने भएको छ। 

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो। 

संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार रातिदेखि र बाह्य उडान पनि बिहीबार रातिदेखि बन्द भएको अवस्थामा उपत्यकाभित्रका तीन जिल्लामा पनि २९ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरि सहयोग गर्न सुरक्षा निकाय र स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए। उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल गरे।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधि लगायतलाई पासको व्यवस्था गरी सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। 

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ। 

मृत्यु संस्कार र बिरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए।

मंगलबारको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ९०३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ७७९ जना, भक्तपुरमा ५१३ जना र ललितपुरमा ६०१ जना नयाँ संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा मंगलबार ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो। सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ। आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ।

यस्तै मंगलबार ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। नेपालमा हालसम्म २५ लाख ३७ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ। हिजो १६ हजार ७०२ जनाको परीक्षण गरिएको छ।

Logo