निजी क्षेत्रको एउटै स्वर, ‘सरकारले आफूखुसी निर्धारण गरेको पारिश्रमिक दिन सक्दैनौं’

निजी क्षेत्रको एउटै स्वर, ‘सरकारले आफूखुसी निर्धारण गरेको पारिश्रमिक दिन सक्दैनौं’


निजी क्षेत्रका तीन ठूला संगठनले सरकारले आफूखुसी निर्धारण गरेको न्यूनतम पारिश्रमिक दिन नसक्ने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कसर्म र नेपाल उद्योग परिसंघले विज्ञप्ति जारी गर्दै सरकारले श्रम दिवसका दिन एकलौटी रुपमा निर्धारण गरेको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसक्ने बताएका हुन् । 

अहिले कोरोना भाइरसको दोस्रो लहरले ५६ जिल्लामा पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा लागू भएको छ। निषेधाज्ञा लागू भएका जिल्लामा सञ्चालित ७ लाख भन्दा बढी व्यवसाय प्रभावित बनेको भन्दै यस्तो  अवस्थामा कुनै पनि हालतमा न्यूनतम पारिश्रमिक लागू गर्न नसकिने प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । 

नेपाल सरकारले ०७८ वैशाख २० गते राजपत्रमा सूचना प्रकाशित गरि श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धिको निर्णय गरेको थियो। न्यूनतम पारिश्रमिक साउन १ गतेबाट लागू हुन्छ ।  

निषेधाज्ञाको अवधि बढदै जाँदा व्यवसायी थप प्रभावित हुँदै जानेछन् । यी मध्ये अधिकांश साना तथा मझौला व्यवसायी भएकाले उनीहरूको दैनिक खर्च संचालनसमेत कठिन हुनेछ । यस्तो अवस्थामा कर्मचारीलाई बढाएर तलब सुविधा दिन नसक्ने उनीहरुले प्रस्ट्याएका हुन् । 

सरकारले तलब सुविधा बढाउन भन्दा पनि रोजगारी कटौती हुनबाट जोगाउन पहल गर्नुपर्छ । तर, यहाँ सुविधा बढाएर निजी क्षेत्रलाई झन शिथिल बनाउन लागिएको निजी क्षेत्रको निष्कर्ष छ । 

यसैगरी, राजपत्रमा प्रकाशित सूचनाको बुँदा नम्बर ३ मा उल्लेख भएको व्यवस्थाले कोभिडबाट एक बर्षभन्दा बढी समयदेखि प्रभावित पर्यटन उद्योग र साना तथा मझौला उद्यमीलाई थप मार पर्ने देखिएको छ । 

गत बर्षको मौद्रिक नीतिमार्फत घोषणा भएको व्यवसाय निरन्तरता कर्जाको समेत कार्यान्वयन नहुँदा व्यवसायी धरासायी बन्दै गएको तीन संगठनको बुझाई छ।

Logo