भारतसँगै आज म पनि रोइरहेको छुः सोनु सुद

भारतसँगै आज म पनि रोइरहेको छुः सोनु सुद


म त्यस दिन भारतकी चर्चित टेलिभिजन पत्रकार बर्खा दत्तसँगको अन्तर्वार्ताका लागि तयारी गर्दै थिएँ। जब क्यामेरा अन भयो, त्यसै बेला मेरो फोन बज्यो। मैले बर्खासँग अनुमति माग्दै फोन उठाएँ। 

उताबाट फोनमा एक्कासि एक २२ वर्षीय युवाले रुँदैं सहयोग अपिल गर्न थाल्यो। मैले फेरि बर्खासँग दश मिनेट समय मागे र, ती युवासँग कुरा गर्न थालेँ। 

ती युवाले मलाई भारतभरि तपाईंले मात्र सहयोग गर्न सक्ने र, आजै दिल्लीमा एउटा चिता चाहिएको बताए। म अचम्भित भएँ। 

ती युवाकी ५० वर्षीया आमाको कोभिड संक्रमणले मृत्यु भएपछि श्मसानघाट व्यवस्थापकले उनलाई लासको लाइन रहेको र अन्तिम संस्कार अर्को दिन मात्र हुने बताएको रहेछ। दुई दिनअघि नै बितेकी आमाको जतिसक्दो छिटो अन्तिम संस्कार सक्न उसले मलाई फोन गरेको थियो। 

त्यो फोनले मेरो होसहवास उड्यो। किनभने मलाई अहिलेसम्म अक्सिजन, मेडिकल सप्लाइ, भेन्टिलेटर अथवा बेड चाहियो भनेर मात्र फोन आउने गरेको थियो। तर, आमाका लागि चिता चाहियो भन्ने फोन मलाई वा मेरो टिमलाई आउला भन्ने हामीले साचेका थिएनौंं। 

अन्तर्वार्ताका दौरान मैले बर्खालाई आफ्नो टिमले दिनरात नभनी गरिरहेको कामबारे सुनाएँ। मेरो टिमलाई भारतभरिबाट सहयोगका लागि दैनिक १५ हजार कल आउँछ भनेको सुन्दा उनी छक्क परिन्।

तर, जब चिता चाहियो भनेर फोन आउन थाल्यो, तब मलाई झनै डर लाग्न थाल्यो। भारतका अधिकांश ठूला सहरको अवस्था यतिसम्म बिग्रिसक्यो कि त्यसको बेलिबिस्तार लगाएर साध्य छैन। अस्पतालबाहिरको भिडले भन्दा मलाई श्मसानघाट बाहिर लागेको भिडले अत्याएको छ। 

संक्रमित बिरामीका आफन्त मात्र होइन, दिनरात अस्पतालमा खटिरहेका फ्रन्टलाइन कर्मचारीले समेत हामीलाई पिपिई चाहियो भनेर मेरो टिमलाई सम्पर्क गरिरहेका छन्। 

मलाई हिजो सुरेश रैनाले फोन गरे। सवा अर्ब जनसंख्या भएको हाम्रो मुलुकमा सुरेश रैना एउटा स्थापित नाम हो। उनी सबैको मनमा बसेका प्रिय क्रिकेटर हुन्। आफ्नी ६५ वर्षीया काकी संक्रमित भएर अस्पताल भर्ना भएकी तर, त्यहाँ अक्सिजन नपाइएकाले एउटा सिलिन्डर उपलब्ध गराइदिन उनले मलाई आग्रह गरे। मेरो टिमले उनकी काकीलाई एउटा सिलिन्डर उपलब्ध गराइदियो। 

संक्रमित बिरामीका आफन्त मात्र होइन, दिनरात अस्पतालमा खटिरहेका फ्रन्टलाइन कर्मचारीले समेत हामीलाई पिपिई चाहियो भनेर मेरो टिमलाई सम्पर्क गरिरहेका छन्। 

अब अनुमान लगाउनुहोस्। यो मुलुकमा सुरेश रैना स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्ने सामथ्र्य राख्छन् अथवा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई। तर, भारतमा अचेल राज्य चलाइ रहेकाहरुमाथि कसैलाई कुनै भरोसा नै छैन। यसबाट सर्वसाधारण भारतीय कस्तो कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेका छन् भन्ने अनुमान लगाउन कठिन नहोला। 

पछिल्लो एक महिनाभित्र मेरो टिमले भारतभरि पाँच सय मेट्रिक टनभन्दा बढी मेडिकल सामग्री सहयोग गरिसकेको छ। दिनको १२ बजे होस् या राति २ बजे, म र मेरो टिमका साथीहरुको फोनको घन्टी बजिराख्छ। कसैलाई बेड, कसैलाई अक्सिन, कसैलाई एम्बुलेन्स, कसैलाई पिपिई त कसैलाई चिता खाँचो हुन्छ। 

यी कुनै पनि सामान उपलब्ध गराउन नसकेको दिन म निकै निरास हुन्छु, लाचार हुन्छु। कस्तो मुलुकमा हामीले जन्म लिएछौंं भन्ने सम्झन्छु। र, फेरि आफैंलाई सम्हाल्छु र यहाँका शासकलाई सम्झन्छु। गर्ने त हामीजस्तै सर्वसाधारणले निमुखा जनताका लागि रहेछ। शासक त निकै माथि बस्दा रहेछन्, जसले तल देख्दै देख्दैनन्। 

अघिल्लो दिन गाजियावादकी एक आमा समानकी महिलाले मलाई भगवानको उपमा दिँदा म आधा घन्टा रोएको थिएँ। दुई साताअघि मैले उनका लागि अक्सिजन, भेन्टिलेर र प्लाज्माको जोहो गरिदिएको थिएँ। त्यसपछि मैले सम्झिएँ–यस्तो संकटमा भगवान बन्ने मन यहाँका शासकलाई किन नभएको होला?

यो महासंकटले भारतलाई कमजोर बनाएको होइन, यहां भित्र रहेको कमजोरीलाई नराम्रोसँग उजागर गरिदिएको हो। मैले भर्खरै सुनेँ–प्रधानमन्त्री मोदीजीले ट्वीटरको मुख्यालय अमेरिका फोन गरेर आफूविरुद्ध आएका लाखौंं ट्वीटहरुलाई रोक्न निर्देशन दिए रे! कति दुःखलाग्दो कुरा। आममानिसका ती ट्वीटलाई त आफूलाई सुधार्ने एउटा मौकाका रुपमा लिन सक्नुपर्थ्याे । 

मलाई अहिलेसम्म ती हजारौं मजदुरले धन्यवाद दिइरहेका छन्, जसलाई मैले निजी विमान चार्टर गरेर उनीहरुको गन्तव्यसम्म पुर्याएँ। मैले आफैं यस्ता सयौं चार्टर फ्लाइट गरेँ, जसमा हजारौं बुढाबुढी, बालबालिका थिए र, उनीहरु भोका थिए। 

अघिल्लो वर्षको लकडाउनमा हजाराैं माइल पैदल हिंडेर उनीहरुले दुःख पाएको मैले बिर्सिएको थिइनँ। तर, लोकतन्त्रवादी मेरो मुलुकले कति छिटो त्यो पीडा बिर्सिएको रहेछ। 

मलाई मेरो शुभचिन्तकले सोध्ने गर्छन्, सहयोगका लागि पैसा कहाँबाट आइरहेको छ भनेर। मैले उनीहरुलाई भनेको छु,–म भोक सहन सक्छु, अरुलाई खुसी पार्नका लागि। मैले गर्नसक्ने काम म गरिरहन्छु। 

मैले अन्तर्वार्ताको सुरुमै बर्खालाई एउटा प्रश्न नसोध्न अनुरोध गरेको थिएँ। मलाई थाहा थियो–भारतीय टेलिभिजन यस्ता प्रश्न सोध्न छुटाउँदैनन् भन्ने। मलाई राजनीतिमा आउनु छैन। 

म कलाकारितामै रमाएको छु। म परोपकारमै रमाएको छु। मलाई राजनीतिको सुगन्धभन्दा यी दुई कुराको सौहार्द धेरै मन पर्छ। 

अहिले मेरो ट्वीटर सहयोगका याचनाले भरिएका छन्। म यो मुलुकमा बेडदेखि चितासम्म सहयोग गरिरहेको छु। मलाई दैनिक आउने १५ हजार कलमध्ये १५जनालाई पनि बचाउन सके भने म त्यस दिन बाँचेको सार्थक भयो भन्ने बुझ्छु। र, प्रार्थना गर्छु– हे भगवान! मेरो मुलुकलाई यो महासंकटबाट बचाइदेऊ। 

(सुदसँग भारतीय सञ्चारमाध्यमले गरेको कुराकानीमा आधारित।) 

Logo