जनता महामारीमा छटपटिँदै, नेताहरु सत्ताकै लुछाचुँडीमा व्यस्त(भिडियोसहित)

जनता महामारीमा छटपटिँदै, नेताहरु सत्ताकै लुछाचुँडीमा व्यस्त(भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले ह्विप जारी गरेको छ। एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सांसदहरूलाई पत्र पठाएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो। उता, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। यसैगरि आजै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी सांसदहरूले पुनः अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्त गर्ने सिफारिस गरेको छ। रेग्मी आयोगकै पूर्वसचिव हुन्। प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा उपस्थित परिषद्को बैठकले पूर्वसचिव रेग्मीलाई आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो। आजको बैठकले अन्य सबै संवैधानिक निकायमा पदपूर्तिका लागि नाम सिफारिस गरिसकेको पनि परिषद् सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिएका छन्।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्ने गरि अन्य दलसँग परामर्श सुरु गरेको बताएको छ। आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ट नेता राजेन्द्र महतोलाई भेटेर सत्तासमीकरणबारे छलफल गरेका छन्। सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले कांग्रेसले जसपालाई ओली सरकार ढालेर आफ्नो नृतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न पनि आग्रह गरेको बताएका छन्।

नेपालले आफ्नै भूउपग्रह राख्ने तयारी गर्दै गर्दा आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन्। नेपालले दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी भूउपग्रहबाट सञ्चालन हुँदै आएकामा आफ्नै जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको छ। सोही अनुसार दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर भूउपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचाको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो । 

अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ। २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको चीनले जनाएको छ। अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारहरूमा उल्लेख छ। 

पुनः एउटा विदेशको प्रशंग, अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ। 

Logo