महिलाको अस्तित्व प्रति आक्रामक पुरुष सोच

सामान्यतया प्रचलनमा रहेका केहि पुरुष प्रधान उखानहरू छन्। “बजारमा दुध किन्न पाउँदा पाउँदै गाई पाल्ने झन्झट कसले गरोस्” अथवा “खुट्टा भए जुत्ता कति कति” ईत्यादी । यी उखानहरूमा पुरुषले उपभोग गर्ने वस्तुको अस्तित्व प्रतिको हलुकापन दर्शन्छ ।

जस्तो कि, घरमा श्रीमती हुँदा पाइने सुबिधाहरु यदि बजारमा किन्न पाइन्छ भने श्रीमती पाल्ने झन्झट किन बसाउने या बेहोर्ने ? अथवा आफु सक्षम छु भने श्रीमती किन नफेर्ने ? यस्ता आशयका उखानहरुमा हाम्रो सम्माजले मनोरन्जन मात्र गरिरहेको छैन, यस्तै उखानबाट हाम्रो नयाँ पुस्ता प्रभावित समेत हुँदै गईरहेको छ ।

एकजना पुरुषले महिला फेरि फेरि सन्तान जन्माउन पाउछ यहाँ । महिला बदलि बदलि सहवास गर्न पाउँछन्, चाहे त्यो सहवास सन्तान उत्पादनकालागि होस्, या मनोरन्जनका लागि पुरुषलाई यस्ता कुरामा कहिल्यै यो समाजले बन्देज लगाईएन् । अहिले सम्म पनि पुरुषले कहाँ कुन अवस्थामा कस्ता नारीसँग सहवास गरेर सन्तान जन्माउने भन्ने विषयमा यो समाजको विचार निकै खुल्ला र फराकिलो छ ।

पुरुषको सहवास सम्बन्धि अधिकार र त्यो अधिकारलाई समर्थन गर्ने सोच फराकिलो भएरै होला हाम्रो देशको सडकमा भौतारिएका र बेबारिसे अवस्थामा रहेका महिला पनि गर्भवती भईरहेका छन् । रोगी, अशक्त र सुस्त मनस्थितिका महिला समेत बेबारिसे अवस्थामा पेटमा गर्भ बोकेर सडकमा लुरुलुरु भौतारिएको देख्न सकिन्छ ।

त्यस्ता अशक्त, रोगी, मानसिक अवस्था ठिक नभएका र दयनीय अवस्थाको कारणले भिखारी भएर मगन्ते जिन्दगी बिताउँन बाध्य भएका महिलासमेत गर्भवती बनेर पेट हल्लाउँदै हिडेको देख्न सकिन्छ यो सबै यहि समाजका सभ्य पुरुषहरुको देन हो । तिनै पुरुष जसले एकजना महिलाले स्वईच्छाले गर्भाधारण गर्छु भन्ने अभिव्यक्ति दिएको साहना सक्दैनन् त्यस्तै पुरुषहरु यस्ता अशक्तहरुलाई गर्भ बोकाउँदै हिड्छन् ।

कसले बनायो त्यस्ती सुस्त मनस्तितिकी महिलालाई गर्भवती ? कुनै भलाद्मी पुरुषको पुरुषत्व त्यो स्त्री देहभित्र प्रवेश नगरी त पक्कै गर्भवती भईनन् होला ति महिला । एकजना बलिष्ठ पुरुषले आफ्नो पुरुषत्वको प्रयोग गरेकी तिनै महिला घृणा र हेयको नजरबाट किन हेरिन्छिन ? मुख्य प्रश्न यहि हो । गर्भवती तुल्याउने पनि पुरुष र हेला गर्ने पनि पुरुष नै १ यो कहाँको न्याय हो ?

मैले सामाजिक संजालमा एउटा भिडियो हेरें । त्यहाँ एउटा नारीले ‘म एकल आमा बन्छु’ भन्ने अभिव्यक्ति दिईन् । त्यो अभिव्यक्तिले हाम्रो पुरुष प्रधान समाज यसरी रोमान्चित भयो कि मानौं ति एकल आमा बन्ने ईच्छा व्यक्त गर्ने महिला अब यी पुरुषहरुका लागि सार्वजनिक उपभोगको वस्तु बन्नु पर्छ ।

हेर्दा हेर्दै केहि पुरुषहरुले सामाजिक संजालमा उनलाई नगर बधुमा परिणत गराए । त्यो अभिव्यक्ति पछाडि फेसबुकमा पुरुषहरू यसरी उद्देलित भए कि एकजना त तत्काल ‘विर्यदान’ को अफर लिएर आइपुगे कमेन्टमा । त्यसरी बिर्यदानको अफर गर्ने पुरुषले यो सामाजिक संजाल हो, यसमा मलाई मेरा आफन्त या मेरा छिमेकीले पनि हेरिरहेका हुन्छन भन्ने सम्म सोच्न सकेको देखिएन । एकल आमा बन्ने महिलाको निर्णय सुन्ने बित्तिकै ति पुरुष यसरि कामुक बन्न पुगे कि उनले आफ्नो अस्तित्व र इज्जत समेत बिर्सिए केहि बेरको लागि । के यहि हो त पुरुष हुनुको अस्तित्व ?

एकजना महिला एकल आमा बन्नु भनेको स्वतन्त्रतापूर्वक आफ्नो शरीरको र आफ्नो भविष्यको आफै निर्णय गर्नु हो । एकल आमा गर्भाधान गरेर मात्र बन्न सकिन्छ भन्ने होइन । गर्भाधान नै नगरी पनि आफ्ना सन्तानहरु बनाउन सकिन्छ । संसारमा यस्ता धेरै मान्छेहरु छन्, जसले अन्य कोखबाट जन्मेका सन्तानलाई आफ्नो वात्सल्यता प्रदान गरेर मातृ सुख प्राप्त गरेका छन् । यो सबै देखेका पुरुषहरु किन एकजना महिलाको अपमान गर्ने अगाडि सर्छन ?

के यो समाज, यो जीवन चक्र र यो प्रकृति पुरुषहरूको लागि मात्र हो ? के यो समाजमा नारीलाई आफ्नो इच्छा व्यक्त गर्ने अनुमती छैन ? कुण्ठाहरु पोखुन्जेल एकजना महिलाको लागि जे पनि गर्न तयार हुने पुरुषहरु अलिकति टाढा हुने बित्तिकै तिनै महिलाहरुलाई त्यति हेयको दृष्टिले कसरी हेर्न सकेका ? फगत सहवासको लागि एकजना महिलाको अगाडि एक भलाद्मी पुरुष कतिसम्म निरिह बन्न सक्छ ? एकजना महिलालाई फकाएर सहवासको लागि तयार बनाउन मरिहत्ते गर्छ पुरुष, कुनै महिलाको अगाडि दुख देखाएर रुन्छ, महिलाको मन जितेर सहवास गर्नको लागि अनेक कसम खान्छ रोइकराई गरेर झुटो प्रेम पनि देखाउँछ तर सहवास सकिने बित्तिकै पुरुष जस्ताको तस्तै र महिला जुठी बिटुली कुन नियम र प्रकृतिको कुन सिद्दान्तको आधारमा हुन्छिन ?

सामाजिक संजालमा पटक पटक विवादमा आइरहने सावित्री सुबेदी बहिनीले व्यक्त गरेका सन्तान जन्माउने इच्छा सम्बन्धी तर्कलाई लिएर सामाजिक संजालमा जुन किसिमको प्रहार गरिएको छ त्यो पुरुष प्रधान सोचको निकृष्टताको पराकाष्टा हो । त्यो महिला हिंसा पनि हो । त्यस किसिमका हिंसाहरुको म घोर निन्दा र भ्रत्सना गर्दछु । आफ्नो उमेर अनुसार आफ्नो तरिकाले सन्तान जन्माउन सावित्रा सुबेदी स्वतन्त्र छन् । सावित्रा मात्र होइन यो प्रकृतिका सम्पूर्ण स्त्री लिंगी प्राणिहरु आफ्नो ईच्छा अनुसार मात्र आमा बन्ने गरेका छन् । मानव सभ्यतामा मात्र स्त्री जातिलाई गर्भाधान गर्न समेत पुरुषको स्वीकृतिको जरुरत पर्दछ ।

मैले आफुलाई साबित्रा सुबेदीको ठाउँमा उभ्याइ हेर्दा यो समाजले दिएका गालीहरुलाई अनुभव गर्दा आफैलाई कहाली लागेर आयो । आङ सिरिङ्ग भयो मन भित्र उकुसमुकुस होलाजस्तो भयो । सहवास गर्न र गर्भाधारण गराउन त्यसरी तछाड मछाड गरेर अगाडि सरेका सामाजिक संजाल प्रयोगकर्ता पुरुष मित्रहरुलाई देख्दा र उहाँहरुको मानसिकतालाई नियाल्दा कस्तो लाग्ने भने यदि उहाँहरुले गर्भाधान गराउन पाउनु भएन भने पक्कै उहाँहरु जवरजस्तीमा उत्रिनुहुन्छ, त्यसरी जबरजस्तीमा उत्रने मानसिकता नै बलात्कारी मानसिकता हो, होइन र ?

संसार धेरै विकसित भईसक्यो तर हामी नेपालीहरुको मानसिकता विकसित हुन सकेन् । एकजना महिला या पुरुष एकल आमा या एकल बाबु बन्न चाहानु स्वाभाविक हो । कमसेकम सन्तान प्रतिको मोह त बाँकी छ नेपालीहरुमा । कतिपय देशमा सन्तानप्रति मोह नै नभएर सन्तान जन्माउने क्रम नै घटेर त्यस्ता देशको जनसंख्या घट्ने क्रममा रहेको देख्न सकिन्छ ।

हामीहरु जिम्मेवार हुन सिक्नुपर्छ, जसरी जुन माध्यामबाट सन्तान प्राप्त गरेपनि त्यो व्यक्तिको नीजि अधिकार भित्रको कुरा हो त्यसमा अरुले हस्तक्षेप गर्न मिल्दैन र पाइदैन पनि । आउनुहोस हातेमालो गरौँ । महिलाले पुरुषको र पुरुषले महिलाको नीजि अधिकारको सम्मान गरौँ र सभ्य समाज निर्माण गरौँ ।

धन्यबाद, नगरकोटी मोनिका- युएई