कीराले धानेको जिन्दगी!

कीराले धानेको जिन्दगी!


यार्सागुम्बा टिप्न सबै बालबालिका लेकतिर, विद्यालय बन्द। उक्त समाचारले काठमाडौंलगायत अन्य सहरमा बर्सेनी बिहानी बहस सुरु गराउँछ। बहस विभिन्न कोणबाट सुरु हुन्छ।

पढ्ने केटाकेटीलाई यार्सागुम्बा टिप्न पठाएपछि किन पछाडि नपर्नु त, किन गरिब नहुनु त। कस्ता अबुझ अभिभावक। कस्तो शिक्षाविरोधी परिवार र समाज। 

यस प्रकारका सतही बहस तथा विश्लेषण उल्लेख हुन्छन्। साधारण व्यक्तिदेखि शिक्षित विद्वान बालबालिकाको शिक्षामा जोड नदिई श्रममा प्रयोग गरिएको निष्कर्ष निकाल्छन्। विद्वानहरुको निष्कर्ष सही छैन। व्यावहारिक छैन। वास्तविक धरातलमा आधारित छैन। कथाव्यथा अर्कै छ। 

विकट मुगु जिल्लाको हिमाली गाउँपालिका मुगुम कार्मारोङका केही प्रतिनिधि पात्रलाई हेरौं–

१.पेमा पुटिक लामाः पेमाको घर मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि उत्तरपट्टि दुई दिन हिँडेपछि पुगिन्छ। मुगुम कार्मारोङ गाउँपालिकाको वडा नं ४ कार्ति गाउँमा उनको घर पर्दछ। उनको गाउँमा मोटरबाटो पुगेको छैन।

उनको परिवार तथा गाउँले सदरमुकामबाट घोडा खच्चडद्वारा खाद्यान्न जोहो गर्छन्। पेमाको परिवारमा ६ जना छन्। पेमा १९ वर्षकी भइन्। 

उनको गाउँमा आलु, जौ, चिनु, कोदो, फापर, सिमि र मकै खेती गरिन्छ। हरेक खेतिपातीमा घोरल, झारलजस्ता जंगली जनावरको आधा हिस्सा रहन्छ। चिसो र कम उब्जनी भएको जमिनको खेतीले तीन महिना मात्र खान पुग्छ।

उनको परिवार र सबै गाउँलेको हातमुख जोर्ने मुख्य कमाइको स्रोत कीरा (यार्सागुम्बा) हो। स्थानीय यार्सागुम्बालाई किरा भन्ने गर्छन्। त्यही कीरा नै उनीहरूको खेतीपाती या पेसा या जागिर या व्यवसाय रहेछ। 

अब एक महिना कीरा खोज्न चिसो लेकमा दुःख कष्ट गर्ने मनस्थिति र तयारी व्यापक हुँदैछ। यसपाली सानो भाइ र बज्यैलाई घरमा छाडेर आमा, बा, भाइ र पेमा किरा खोज्न जाने योजना छ। 
पोहोर सालको लकडाउनले गर्दा गाउँपालिकाले कीरा टिप्न स्वीकृती दिएन। सबै गाउँले घरमै बसे। तनले लेकको चिसो हिमाली सिरेटो खानु परेन।

तर, मनमा भने धेरै ज्वाराभाटा खेल्यो। उनको गाउँ र अन्य हिमाली गाउँका मानिस गाउपालिकाको निर्णयले रोकिए। किराबाट आम्दानी शून्य भयो।

परिवारले लकडाउनद्वारा सिर्जित चरम अभाव र महँगी खेप्नुप¥यो। तर, अन्य जिल्ला तथा क्षेत्रबाट चोरबाटो प्रयोग गरी उनीहरुको लेकबाट थुप्रैले किरा टिपेछन्। पेमा तथा गाउँलेले पछि मात्र थाहा पाए। 

२. पासाङ छिरिङ लामाः पासाङको घर मुगुम कार्मारोङ गाउपालिका वडा नं ४ को किम्री गाउँमा पर्दछ। उनी ३३ वर्षको भए।

घरको मुख्य कमाउने व्यक्ति पासाङ नै हुन्। यो वर्ष गाउँपालिकाले कीरा टिप्ने स्वीकृति दिनेमा आशावादी छन् उनी। पोहोर साल लकडाउनले गर्दा कीरा टिप्न नपाएकोमा दुःख मान्छन् उनी। 
ढल्किँदो उमेरका बाआमालाई घरमा छाडेर, छोराछोरी श्रीमती लिएर लेक जाने योजनामा छन्। 

३. पेमा इन्डोङ लामाः उनको घर पनि मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा पर्दछ। पेमा इन्डोङ लामा १९ वर्षकी भइन्।

दुई दाजु र तीन दिदी घरजमपछि आफ्नै व्यवस्था गरेर बसेका छन्। उनको गाउँमा सानै उमेरमा बिहे गर्ने चलन भए पनि उनले भने अहिलेसम्म बिहे गरेकी छैनन्।

वृद्ध बाआमालाई भरपूर साथ दिँदै छिन् उनले। उनी अघिल्लो वर्षमा झैं साथीसंगीसँग कीरा टिप्ने योजनामा छिन्। पासाङ तथा पेमा प्रतिनिधि पात्र मात्र हुन्। 

गाउँका तन्नेरीदेखि ढल्किँदो उमेरका व्यक्तिहरुसमेत कीरा टिप्न लेक जान्छन्। केही दम्पती दूधे बालक बोकी कीरा खोज्न लेक जान्छन्।

कीरा खोज्ने समयमा गाउँ शून्यजस्तै हुन्छ। स–साना बालबालिका र वृद्ध बुढाबुढी मात्र गाउँमा हुन्छन्। किशोरकिशोरीको आँखा तेजिलो र फुर्तिलो हुने हुँदा कीरा टिप्ने काम प्राथमिकतामा हुने गर्छ। जसले गर्दा उक्त क्षेत्रका विद्यालय बन्द हुने गर्दछन्।

हिमालनजिक बस्ने पेमा तथा पासाङहरुको जीवन कष्टपूर्ण छ। तर, दुःखी छैनन् उनीहरु। अभावमा होलान् तर मनकारी छन्। सपना मुच्र्छित छन् तर अनावश्यक महत्वाकांक्षी छैनन्।
 बर्सेनी आधारभूत आवश्यकता पूरा गर्ने कीराको मूल्य पनि अस्थिर हुने गर्दछ। सानाठूला व्यापारी मूल्य अस्थिरताका लागि व्यापक चलखेल गर्ने गर्दछन्। राज्यसँग कुनै गुनासो छैन। अर्बौ खर्चेर बनेको धरहराप्रति गुनासो र हर्ष केही पनि छैन।

कीरा खोज्ने समयमा गाउँ शून्यजस्तै हुन्छ। स–साना बालबालिका र वृद्ध बुढाबुढी मात्र गाउँमा हुन्छन्। किशोरकिशोरीको आँखा तेजिलो र फुर्तिलो हुने हुँदा कीरा टिप्ने काम प्राथमिकतामा हुने गर्छ। जसले गर्दा उक्त क्षेत्रका विद्यालय बन्द हुने गर्दछन्।

 करोडौं खर्चेर बनेको राम–जानकी मन्दिर होस् या पशुपतिनाथमा सुनको गजुर राख्ने कुरा, यसमा कुनै अत्तोपत्तो छैन। कठिन भूगोलमा आफ्नो देश र भूभागको असली पहरेदार बनिरहेका छन्।

भूमिपुत्रको भूमिका सधैं निर्वाह गरिरहेका छन्। तर, राज्य अनुदारजस्तै छ। बेइमानी र निजी स्वार्थमा लिप्त छ। 

राज्यको भूमिका के हुनुपर्ला?

देशमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन भए। थोरैको जीवन पद्धति सपनाझैं फेरिए। धेरैको जनजीविका उस्तै छ। हिमाली विकट जिल्लाहरुको जीवनस्तर र भौतिक विकास उस्तै छ। 

कलिला बालबालिका र तिनका अभिभावकले रहरले कीरा टिपेका होइनन्। उनीहरुलाई शिक्षाको महत्व राम्रोसँग थाहा छ। सास भए मात्र आस हुने हो। भोक र अभावको पीडा पुर्खौदेखि भोगिआएका अग्रज सन्ततिलाई हुनसक्ने पीडा दोहोर्याउन चाहँदैनन्।

त्यसकारण, एक महिना लेकमा चिसो सिरेटोसँग जुहारी खेल्नुलाई अवसर मान्छन्। हिमाली क्षेत्रका भूभागको आफ्नै अवसर र चुनौती छन्।

स्याउ र दाँते ओखरका बोटमा फुल्दै गरेका फूलहरुले प्रचूर सम्भावना र अवसरको संकेत गरिरहेका छन्। सिमी तथा अन्य लेकाली तरकारीले स्वादिष्टको ट्रेडमार्क पाइसकेका छन्। 

बहुमूल्य हिमाली जडिबुटी सही व्यवस्थापन र उत्खनन्को खोजीमा रहेछन्। गाउँ नजिकको तामाखानीले उत्खनन् खोजी रहेछ। छाँयानाथ हिमाल (स्थानीयले एप्लाङ हिमाल भन्छन्)ले पर्यटकलाई बोलाइ रहेको छ।

राज्यले विकट हिमाली गाउँको विकास र समृद्धिको मार्ग अहिलेसम्म कोर्न सकिरहेको छैन। केही गैरसरकारी संस्थाको कार्यक्रम जीवनस्तर सुधारका लागि कोशेढुंगाजस्तै भएका छन्। तर, पर्याप्त छैन।

अन्तमा, राज्यले पिछडिएका समुदाय र क्षेत्रको दिगो विकास, जीविकोपार्जन र उत्थानशीलताका लागि विशेष योजना र कार्यक्रम ल्याउनुपर्दछ। बहुमूल्य जडिबुटीलाई सिरानी बनाइ निदाइरहेका गाउँलेलाई निद्राबाट छिटो ब्यूँझाउनु पर्छ।

बिहान–बेलुकाको दुई छाक खानाको सुनिश्चित नभएसम्म हिमाली क्षेत्रका कलिला बाबुनानी कीरा खोज्न लेक गइ रहन्छन्। कुन व्यवस्थाले बर्सेनी कलिला नानीबाबुलाई हात मुख जोर्नका लागि हिमालको फेदसम्म जानबाट रोक्ला?

(विपद् व्यवस्थापनमा लामो अनुभव सँगालेका लेखक मुगुमा रहेर एउटा गैरसरकारी संस्थामा काम गर्छन्।) 

Logo