जसपामा चर्कियो मतभेद, विभाजनतिर गएको हो?

जसपामा चर्कियो मतभेद, विभाजनतिर गएको हो?


एकताको पहिलो वर्ष यही वैशाख १० गते पार गरेको जनता समाजवादी पार्टी (जसपा) भित्र चर्को मतभेदसहित स्पष्ट दुई धार देखिएको छ।

एउटा धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुर र अर्को धारको नेतृत्व अध्यक्ष उपेन्द्र यादवले गरेका छन्। 

मतभेद कसलाई समर्थन गर्ने भन्नेमा देखिएको हो। जुन संसदसम्मै पुगेको छ। सोही कारण पार्टी कतै विभाजन त हुँदैन? प्रश्न उब्जिएको छ।  

ठाकुरको पुरापूर समर्थन एमाले अध्यक्ष केपी ओलीलाई छ। सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओली सरकारको तारिफ गर्न पनि ठाकुरले भ्याए।

अधिवेशन लगत्तै प्रेस विज्ञप्ति जारी गर्दै आदिवासी जनजाती, मधेसी, थारु, दलितलगायत  सिमान्तकृतहरूको सवालहरू बन्दी रिहा, नागरिकतासम्बन्धी कानून संशोधन, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने जस्ता कार्यमा सकारात्मक प्रगती ओली नेतृत्वको सरकारबाट भएको बताए।

यही आधारमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपा वैकल्पिक सरकार गठनको पक्षमा नरहेको प्रष्ट जवाफ ठाकुरले दिएका छन्।

उनले ओली नेतृत्वको सरकारले मधेस आन्दोलनको क्रममा विभिन्न १५ वटा मुद्दामा बन्दी जीवन बिताइरहेकाहरूलाई रिहा गरेर राम्रो गरेको पनि बताउँदै आएका छन्।

यसअघि ठाकुर पक्षले समर्थन पाउनका लागि ओलीले ३ वटा मागलाई सम्बोधन गर्नुपर्ने शर्त राखेको थियो। त्यसमध्ये एउटा माग सम्बोधन हुँदा बाँकी २ वटा माग सम्बोधन हुन बाँकी छ।

पहिलो – सांसद रेशमलाल चौधरीको रिहा।
दोस्रो – संविधान संशोधन।

यी सहित तीन माग राखेर ठाकुर पक्षले समर्थन गर्दा यादव पक्ष सुरुदेखि नै ओलीलाई सत्ताच्युत गरेर नयाँ सरकार गठनको पक्षमा छ। यसको पछि यादव पक्षको एउटा आरोप छ।

त्यो हो, – असंवैधानिक र अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटन गरेको, संघीयता, समावेशीता, समानुपातिक व्यवस्थादेखि मधेस आन्दोलन/थरुहट र आदिवासी आन्दोलनको सच्चा विरोधी ओली र उनी नेतृत्वको सरकार हो।

यही आधारमा ओलीलाई समर्थन गर्न नसकिने यादव पक्षको तर्क छ र ओलीको सत्ताच्युत गर्न भनेर कांग्रेस, माओवादी, जनमोर्चासहितको विपक्षी गठबन्धनमा समाहित भएको छ।

जबकि ठाकुर पक्ष तटस्थ रहेको छ। सोमबार प्रधानमन्त्रीको हैसियतमा ओलीले विश्वासको मत लिँदा पनि तटस्थ रह्यो। तटस्थ रहनेमा १५ जना सांसद थिए। 

यसरी ठाकुर पक्ष तटस्थ रहँदा यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्यो। त्यसो हुँदा विपक्षी गठबन्धनको पक्षमा १२४ मत खसेको थियो। मतदानमा २३२ सांसद सहभागी थिए।

यी परिदृश्यले जसपाको मतभेद संसदसम्मै पुगेको छ। मतभेदले गर्दा नेताहरू टाढिँदै गएका छन्। पार्टी एकतामा गम्भीर संकट देखापरेको छ।

कतिपयले पार्टी विभाजन हुनेसम्मको चर्चा पनि गर्न थालेका छन्। के चर्चा भएजस्तै पार्टी विभाजनको स्थितिमा पुगेको हो? 

उक्त पार्टीका प्रवक्ता विश्वदिप पाण्डेले केन्द्रविन्दुसँग भने, ‘पार्टी एकतामा संकट परेको हो, त्यही भएर अहिले पार्टीको दुवै पक्षका शीर्षस्थ नेताहरू छलफलमा छन्।’ उनले पार्टीलाई फुटबाट जोगाइने पनि बताए।

‘मुलुकको वैकल्पिक शक्ति जसपा नै हो, त्यसैले यो पार्टीमा देखिएको मतभेदलाई टुङ्ग्याउँछौं, दुईतिर भन्दा पनि एकैतिर उभिने प्रयास गर्नेछौं’, प्रवक्ता पाण्डेको भनाइ छ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख १० गते मध्यरातमा एकता भएको थियो।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीले ल्याएपछि दुई दलबीच हतारमा एकता भएको हो।

तर, एकताको वर्ष दिन हुँदा देखिएको मतभेदकै कारण विभाजनतिर जाने हो कि भन्ने आशंका गरिएको छ।

Skip This
Logo