निषेधाज्ञाका बीच पनि किन बढ्दै छ संक्रमण र मृत्युदर?

निषेधाज्ञाका बीच पनि किन बढ्दै छ संक्रमण र मृत्युदर?


नेपालमा कोरोना भाइरसको दोस्रो लहरबढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको झण्डै दुई हप्ता बितिसक्यो तर, संक्रमण दर घट्नुको सट्टा बढ्दै गएको छ। वैशाख सुरुबाट बढ्दै गएको संक्रमणको ग्राफ बुधबारसम्म आइपुग्दा संक्रिय संक्रमितको संख्या १ लाखमाथि पुगेको छ। दैनिक संक्रमित हुनेको संख्या पनि ९ हजारमाथि छ। 

यस्तै मृतको संख्या पनि बढ्दै गएको छ। पछिल्लो तीन दिनको तथ्यांक हेर्दा आइतबार थप मृतकको संख्या ८८ रहेकोमा सोमबार सो संख्या बढेर एक सय ३९ पुग्यो। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो संख्या मंगलबार आइपुग्दा दुई सय २५ पुगेको छ। यसले के देखाउँछ भने अबका दिनमा पनि नेपालमा कोरोनाका संक्रमणका कारण ज्यान गुमाउनेको संख्या अधिक हुनेछ, र स्थिति भयावह हुँदै जानेछ।
 
तर, निषेधाज्ञा जारी भएको दुई हप्ता बितिसक्दा पनि किन कोरोना संक्रमितको संख्यामा ह्रास आएको छैन त? किन दिनानुदिन मृत्युदर बढिरहेको छ त? यस विषयमा ग्राण्डी इन्टरनेसनल अस्पतालका रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल भन्छन्, यो निषेधाज्ञा भन्दा अघिकै असर हो। केन्द्रविन्दुसँग फोन सम्पर्कमा कुरा गर्दै डा. नेपाल भन्छन् निषेधाज्ञा अघि नै संक्रमण समुदाय स्तरमा पुगिसकेको थियो र त्यो असर अझै २१ दिनसम्म देखिन्छ। त्यसपछि मात्र निषेधाज्ञाको प्रभावकारिता देखिने छ।’ यो लकडाउनको मोडालिटी पनि उति प्रभावकारी नभएको डा. नेपालको गुनासो छ। ‘सडक हेर्दा कुनै निषेधाज्ञा जस्तो लाग्दैन, बिहान मानिसहरूकाे भीड देख्दा र भाटभटेनी जस्ता सुपरमार्केट, असन जस्ता व्यापारिक क्षेत्र हेर्दा लाग्छ, याे निषेधाज्ञा गरिबका लागि मात्र हाे ।’ त्यसैले पनि संक्रमण दर बढ्दै गएको उनको बुझाइ छ।

संक्रमणपछि नेपालमा मृत्युदर किन उच्च बन्दै गइरहेको छ। यो पनि धेरैको जिज्ञासा हुन आउँछ। डा. नेपाल भन्छन्,‘अस्पतालमा अक्सिजन छैन, बेड छैन। त्यही भएर पनि विगत २/३ दिनबाट मृत्युदर बढेको हो। यदि अक्सिनको उपलब्धता पर्याप्त हुने हो भने मृत्युदर घट्ने उनको दावी छ। 

स्थिती भयावह बन्दै जाँदा अबको तीनदेखि चार हप्ता कोहि पनि हिडडुल नगर्ने, गरिवका लागि मात्रै निषेधाज्ञा नभइ साँच्चै पूर्ण लकडाउन नै गर्नु पर्ने तथा सरकारले पर्याप्त स्वास्थ्य सामग्री अस्पतालहरूलाई उपलब्ध गराउन सके स्थिती सुधार हुँदै जाने डा. नेपालको बुझाई छ।

Logo