उद्योग वाणिज्य महासंघद्वारा ‘कोभिड १९ सहायता केन्द्र’ गठन

उद्योग वाणिज्य महासंघद्वारा ‘कोभिड १९ सहायता केन्द्र’ गठन


नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ। 

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्नेछ। कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायताका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारीसमेत तोकेको छ। 

यससँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्फत सम्पर्क गरि सहयोग लिन सकिने जनाएको छ। अक्सिजन सिलिन्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई दिइएको छ। 

यस्तै, अस्पताल तथा आइसोलेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिइएको छ। एम्वुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिइएको छ भने होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिए। 

बरिष्ठ उपाध्यक्ष ढकालले महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने बताए। महासंघले काठमाडौँ उपत्यकामा २०० बेडको आइसोलेसन केन्द्र बनाउन लागेको उनले जानकारी दिए। 

कोभिड संक्रमण बढेर देश नै अस्तब्यस्त हुन लागेको बेला नीजि क्षेत्रको छाता संगठनले सहायताका लागि अग्रसरता देखाएको छ। यो क्रम निरन्तर रहने र नीजि क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिडविरुद्ध लड्न जनता र सरकारलाई सघाउने बरिष्ठ उपाध्यक्ष ढकालले बताए। कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सहकार्यका लागि आग्रह गरे पनि नीजि क्षेत्रले बेवास्ता गरिरहेको भन्दै समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो।

Logo