स्वास्थ्य समस्या गम्भीर अवस्थामा पुगेको चिकित्सक संघको निष्कर्ष, रेड अर्लट जारी

स्वास्थ्य समस्या गम्भीर अवस्थामा पुगेको चिकित्सक संघको निष्कर्ष, रेड अर्लट जारी


नेपाल चिकित्सक संघले रेड अर्लट जारी गरेको छ। कोभिड १९ को संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट  घोषणा गरेको हो। बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल पनि गरेको छ। 

संक्रमितहरु अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउन सक्ने अवस्था हुँदाहुँदै अक्सिजनको अभावमा विरामीको ज्यान जाने गरेका लगायत हृदयविदारक दृश्यहरु देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ। 

संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झक्झकाइरहे पनि सरकार, राजनीतिक दल लगायत सरोकारवालाहरु गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ। संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्काहरु महामारी विरुद्धको लडाईमा एकजुट हुन आव्हान गरिएको बताए। 

उनले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर रेर्ड अर्लट जारी गरी सबैलाई कोभिड विरुद्धको लडाईंमा एकत्रित हुन अपिल गरे। संघले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामाग्रीको उपलब्धता गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उनले बताए।

उनले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले चिकित्सकमाथि हुने हातपातका घटना रोक्न र संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे।

Skip This
Logo