चालू आर्थिक वर्षको ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स

चालू आर्थिक वर्षको ९ महिनामा भित्रियो ७ खर्ब २९ अर्ब रेमिट्यान्स


नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। बैंकका अनुसार  विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको छ।

चालू आर्थिक वर्षको नौ महिनामा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स गत वर्षको तुलनामा बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने ६६.७ प्रतिशतले घटेको छ। त्यस्तै समीक्षा अवधिमा पुन श्रम स्वीकृती लिनेको संख्या पनि ५५.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

चालू आर्थिक वर्षको नौ महिनामा कुल आयात १३.१ प्रतिशत बढ्दै ११ खर्ब ११ अर्ब ४० करोड र निर्यात २०.२ प्रतिशतले बढेर ९७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

पछिल्लो नौ महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले वृद्धि भई १० खर्ब १६ अर्ब ६३ करोड पुगेको छ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः २०.३ प्रतिशत र ७.७ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयातमा २.३ प्रतिशतले कमी आएको छ। 

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७ अर्ब ४१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा रहेको थियो। 

गत वर्षको अन्त्यसम्ममा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई चालू आर्थिक वर्षको चैत मसान्तमा १४ खर्ब ३३ अर्ब २७ करोड पुगेको बैंकले जनाएको छ। 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह २२.५ प्रतिशतले र निक्षेप संकलन १३.७ प्रतिशतले बढेको छ।

Logo